बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले आजदेखि रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको छ । बैंकले ११ प्रतिशत ब्याजदर रहेको प्रति ऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि बैशाख १० गते अनुमति दिएको थियो । कुल कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ १९ गते हुनेछ भने ढिलोमा जेठ ३० गते हुनेछ । ऋणपत्र खरीदका लागि आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।
प्रतिक्रिया