बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७/७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पुरस्कार वितरण गरेका छन् ।
कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८/७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७/७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आ.व. २०७८/७९ मा अन्य ३३ जना र आ.व. २०७७/७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आ.व. २०७८/७९ मा शाखा कार्यालय बिराटनगर र आ.व. २०७७/७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद रु. ५० हजार सहित प्रमाणपत्र प्रदान गरियो ।
त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/७९ मा १७ वटा शाखा र आ.व. २०७७/७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु १० हजार देखि रु. ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरियो । साथै, कार्यक्रममा कर्मचारीहरुलाई बरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र दुर्गा कुमारी कँडेल, रा.वा. बैंक कर्मचारी संघ नेपालका बरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रा.वा. बैंकका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया