बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । बोर्डले दुबै कम्पनीलाई मर्जरमा जान बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी दुई कम्पनीले मर्जरमा जाने स्वीकृति पाउन वैशाख ३ गते सेबोनमा निवेदन दिएका थिए । सेबोनले कम्पनीहरूको निवेदनअनुसार यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति दिएको हो ।
सेबोनले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अब कम्पनीहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर एकीकृत कारोबार सुरू गर्नेछन् ।
दुई कम्पनीबीच माघ २७ गते एकआपसमा मर्जरमा जाने सहमति भएका थिए । दुई कम्पनीबीच १ बराबर १ अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।
प्रतिक्रिया