स्मृतिको ‘करिअर ग्राफ’: हस्पिटालिटी, हस्पिटल र मिडिया हुँदै निफ्राको `भाइस प्रेसिडेन्ट´

स्मृतिको ‘करिअर ग्राफ’: हस्पिटालिटी, हस्पिटल र मिडिया हुँदै निफ्राको `भाइस प्रेसिडेन्ट´


काठमाडौं – कतिपयको सोच हुन्छ महिला विहे गरेपछि कुनै पेसामा आवद्ध हुन निकै गाह्रो छ । अझैपनि बच्चा जन्माई सकेपछि त झन् काम गर्न सकिँदैन । तर, नेपाल इन्फ्रास्ट्रक्चर बैंककी ‘भाइस प्रेसिडेन्ट ’ स्मृति शर्माले भने यो कुरालाई गलत सावित गरेकी छिन् । उनले दुई सन्तान जन्माएपछि मात्रै काम सुरु गरिन् । सो समयमा उनका साथिहरु टप व्यवस्थापनमा पुग्दा उनी तल्लो तहबाट ‘करिअर’मा छिरिन् ।

संयुक्त परिवारमा हुर्केकी उनी परिवारका नाती नातीनामध्यको पहिलो सन्तान थिइन् । उनी सानो छँदा उनका बुबा आमा कामका लागि प्राय बाहिर जाने गर्थे । जसकारण, उनले धेरै समय हजुरआमासँग बिताउने गर्थिन् । हजुरआमाले निकै राम्रो संस्कार दिएको बताउँछिन् उनी । उनले सानैदेखि नयाँ कुरा सिक्ने बुझ्ने मौका पाएकी थिइन् । जसले, गर्दा उनको बाल्यकाल सिक्दै, बुझ्दै, रमाउदै बित्यो ।

उनका बुबाआमाका ३ जना सन्तान छन् । काठमाडौंमा नै हुर्केकी स्मृतिको परिवारको सबै सदस्यहरुको धारणा पढ्नुपर्छ भन्ने खालको थियो । उनकी हुजरआमाले अझ धेरै पढाईलाई प्रोत्साहन गर्ने गरेकी थिइन् । कक्षा १ देखि १० सम्मको पढाई काठमाडौंको वनस्थली स्कुलबाट पुरा गरेकी थिइन् स्मृतिले । आइएसी गर्न ‘सेन्टजेभियर्स’ भर्ना भइसकेपछि सो विषय आफ्ना लागि नभएको पत्तो पाइन र छाडिन् ।

त्यसपछि उनी आइकम पढ्न पद्मकन्या कलेजमा भर्ना भइन् । सोही दौरानमा हस्पिटालिटी म्यानेजमेन्ट इन्डियाबाट गरिन् । हस्पिटालिटीमा म्यानेजमेन्ट पढ्दै गर्दा २३ वर्षको उमेरमा बिहे भयो । पढाइमा हौसला प्रदान गर्ने श्रीमानका कारण बिहेपछि पनि स्मृतिको पढाइको वेग रोकिएन् । बरु उल्टै बिहेपछि श्रीमानसँगै एमबीए पुरा गरिन् ।

सानोमा यहि क्षेत्रमा काम गर्ने भनि केही लक्ष्य तय गरेकी थिइनन् । बाल्यकालमा धेरै क्षेत्रमा रुची राख्ने उनी संगित क्षेत्रमा विशेष रुची राख्थिन् । स्मृती बैकिङ्ग क्षेत्र प्रवेश गरेको दुई दशक नाघिसक्यो । विवाह पछि २ वर्ष उनी घरकै काममा व्यस्त भईन् । बैंकिङ्ग क्षेत्रमा काम गर्नुअघि विभिन्न होटलहरुमा पनि काम गरेको अनुभव उनलाई छ । उनले हस्पिटालिटी म्यानेजमेन्ट पढेर आउँदा पनि नेपालमा बीबीएसको अध्ययन सुरु भएको थियो ।


जब छोरीले अफिस जाउ भनिन्…
स्मृतीका दुई छोरी छन् । एउटी छोरी पढाईको शिलशिलामा बाहिर छिन् भने एउटी छोरी नेपालमै छिन् । एकदिन् एउटी छोरीले तोते बोलीमा बाबा अफिस जाने तपाई नजाने भन्ने शब्द उच्चारण गरिन् । जसले स्मृतीलाई आफ्नै पहिचान निर्माणमा प्रेरणा दियो र बैंकमा जागिर गर्ने निधो गरिन् । ‘छोरीहरुले आफ्नी आमा पनि रोजगारी गरेको रुचाउने र बच्चालाई पनि काम गर्ने आमा नै चाहिने रहेछ भन्ने बुझे,’ उनी भन्छिन् ।

स्मृतीले विभिन्न क्षेत्रमा कामको अनुभव बटुलेकी छिन् । उनले होटल, हस्पिटलमा समेत रोजगारी गरेको अनुभव समेटेकी छिन् । उनले दक्षिण एसियाली फुटलब च्याम्पियनसिप (साफ) मा मिडिया कोअडिनेटरको रुपमा पनि अनुभव बटुलिन् । बैंकिङ्ग क्षेत्रमा प्रवेश भने युनाइटेड फाइनान्सबाट गरेकी हुन् । उनले फाइनान्समा मानव संसाधनका रुपमा काम गरेकी हुन् ।

त्यसपछि रिलायन्स फाइनान्स प्रवेश गरिन् र ७ बर्ष काम गरिन् । यसपछि उनी ‘क’ वर्गको बैंक प्रवेश गरिन् । केही समयमा उनी एभरेष्ट बैंकमा काम सुरु गरिन् । बंैकमा सुरुवाति दिनहरुमा काम गर्न निकै कठिन थियो । तर, गर्न सक्छु भनेर काम गरेकाले अहिले यो ठाँउमा रहेको भन्दै हिम्मत भने हार्न नहुने बताउँछिन् । त्यसपछि नेपाल इन्फ्रास्टक्चर बैंकमा प्रवेश गरेकी हुन् । उनले सुरुसुरुमा आफु करिअरमा धेरै पछाडि परे भन्ने सोच रख्थिन । तर, हाल उनी करिअर ग्रोथ आफुले चाहे जस्तै भएको बताउँछिन् ।

उनको विचारमा बैकिङ्ग क्षेत्र महिलाहरुको लागि सुरक्षित र सम्मान पाउने क्षेत्र हो । पहिलेको तुलनामा बैंकिङ्ग क्षेत्रमा धेरै परिवर्तन भएका कारण महिलालाई हाल बैंकिङ्गमा काम गर्न सहज भएको बताउँछिन् । बैंकिङ्ग क्षेत्रले महिलाहरुको लागि आवश्यकता अनुसारको बिदा, भत्ता जस्ता सेवाहरु प्रदान गराएको छ । जसका कारण बैंकिङ्ग क्षेत्र अहिले महिलाको लागि आकर्षण क्षेत्र बनेको उनी बताउँछिन् ।

उनले बच्चा ३ बर्षको नहुदासम्म कुनै पेशामा नलागेर आफ्नो पुरै समय बच्चालाई दिइन् । उनले आफ्नो काम, पैसा मात्र हेरेको भए आफ्नो बच्चा अहिले यो ठाँउमा नहुने बताउँछिन् । स्मृतिकी दुवै छोरीहरु राष्ट्रिय स्तरको खेलाडी हुन् । उनी आफ्नो काम र आफुले दिएको संस्कार प्रति एकदमै खुशी र सन्तुष्टि भएको बताउँछिन् । कुनैपनि काम कठिन छ भन्ने लाग्दैन स्मृतिलाई । उनी काम गर्न सजिलो र कठिन भन्ने कुरा आफुले निर्णय गर्ने बताउँछिन् ।

उनलाई हरेक काममा परिवारको साथ सपोर्ट मिलेको छ । उनले काम सुरु गरेको दिनहरुमा महिलाहरु बैंकिङ्गमा निकै कम थिए । तर, हरेक कुरामा व्यवस्थापन गर्दै लैजाने क्षमता भने षुरुषमा भन्दा महिलामा बढी भएको अनुभव उनले गरिन् । ‘आफु जति सुकै सक्षम भएर काम गरेपनि म आमा हो श्रीमती हो, बुहारी र छोरी पनि हो भन्ने कुरा भुल्न हुँदैन’ उनी भन्छिन् ।

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)