काठमाडौं – कुनै पनि क्षेत्र प्रवेश गर्न त्यस क्षेत्रमा ‘मोटिभेट’ गर्ने कुनै न कुनै पक्षको आवश्यक हुन्छ । हरेक क्षेत्र प्रवेश गर्दा प्रवेश गर्ने व्यक्तिले त्यसको फाइदा बेफाइदा पनि निर्क्योल गर्ने गर्दछ । यस्तै, नेपाल राष्ट्र बैंककी उपनिर्देशक शिखा अधिकारी रेग्मी बैंकिङ्ग क्षेत्रमा बैंकरबाट प्रेरित भएर बैंकिङ्ग क्षेत्र प्रवेश गरेको बताउँछिन् ।
विराटनगरमा हुर्किएकी शिखाको बाल्यकाल रामाइलोसँग बित्यो । उनले विराटनगरबाट नै एसएलसी दिएकी हुन् । उनलाई विद्यार्थी जीवन भनेपछि साथी विद्यालयको चौरको याद आउँछ । उनी पढ्दा भर्खर भर्खर ‘बोडिङ्ग’ स्कुलको ‘कन्सेप्ट’ आएको थियो । उनले पढ्दा विद्यालयको झ्यालहरू पनि थिएनन् । उनले अध्ययनको सुरुवात बोडिङ्गबाट नै गरेकी हुन् ।

‘सानोमा यो गर्छु यो बन्छु भन्ने किसिमका सोच कहिल्यै आएन,’ बैंकिङ्ग समाचारसँग भनिन्, ‘सानोमा जुन फिल्डमा लागे पनि बेस्ट गर्नुपर्छ भन्ने लाग्थ्यो ।’ पढ्दै गर्दा विज्ञान पढ्ने सोच नआएको पनि होइन । तर, उनले त्यसलाईभन्दा व्यवस्थापन संकायलाई नै जोड दिएर व्यवस्थापन नै अध्ययन गरिन् । व्यवस्थापन विषय लिएर अध्ययन सुरु गर्ने बित्तिकै यसमा राम्रो गर्छु भनेर सोचिसकेको थिइन् ।
जब उनले म्यानेजमेन्ट लिएर पढिन् तब उनले अन्य क्षेत्र दायाँबायाँ कतै नलागी बैंकिङ्ग क्षेत्र प्रवेश गरिन् । उनले ब्याजलर पढ्दै गर्दा स्ट्याण्डर्ड चार्टर्ड’मा काम गरेकी हुन् । उनले बैंकिङ्ग स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सुरु गरेकी हुन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कनट्र्याक्टमा पनि काम गरिन्। उनले ३र४ वर्ष त्यहाँ काम गरेपछि एभरेष्ट बैंक प्रवेश गरिन् । एभरेष्टमा पनि सोही अवधि काम गरिन् उनले ।
बैंकरको ‘लाइफस्टाइल’बाट प्रभावित
बैंकिङ्ग क्षेत्र प्रवेश गर्नमा बैंकका कर्मचारीको लाइफस्टाइलले ठूलो भूमिका खेलेको छ । ‘त्यो समयमा के कस्तो भनेर इकोनोमी बुझिसकेको अवस्था थिएन, बैंकमा काम गर्ने मान्छे चटक्क परेर हिँडेको देख्दा र पैसा पनि राम्रो हुन्छ भन्ने सुनेको थिए’ उनले त्यो दिन सम्झिँदै भनिन्, ‘यो क्षेत्र प्रवेश गरे पनि केही गर्न सकिन्छ भनेर म बैंकिङ्ग क्षेत्र प्रवेश गरेको थिए ।’
प्राइभेट बैंकबाट जागिर सुरु गरेका कारण राति अबेरसम्म बसेर काम गर्दा विभिन्न समस्याहरू सिर्जना हुने गरेको बताउँछिन् । उनलाई राष्ट्र बैंकमा आएपछि भने त्यस्तो समस्याबाट पनि मुक्त भएको बताइन् । निजी क्षेत्रबाट सञ्चालित बैंक छाडेर राष्ट्र बैंक छिरेको नै १३ वर्ष बितिसकेको छ । तर, हाल पनि केही कुरामा भने चुनौती सामना गर्नुपरेको उनी बताउँछिन् ।

उनको परिवारमा श्रीमान्, सासु ससुरा र उनका छोराछोरी गरी छ जना छन् । उनले नेपाल राष्ट्र बैंक भने सोच्दै नसोची प्रवेश गरेकी हुन् । उनले विराटनगर बसेर आफैँ पढेकाले राष्ट्र बैंकमा नाम निकाल्ने सोचेकी थिइनन् । तर, उनले पहिलो पटक नै नाम निकालेकी हुन् । उनी बैंकिङ्ग क्षेत्र महिलाका लागि निकै प्रेरणादायी रहेको बताउँछिन् । उनी करिअर ग्रोथका लागि पनि बैंकिङ्ग क्षेत्रमा सहज रहेको बताउँछिन् ।

बैंकको जागिर कठिन भए पनि व्यवस्थापन गर्ने आफ्नो कुरा रहेको बताउँछिन् । उनी बैंकिङ्ग क्षेत्रमा काम गरेर निकै सन्तुष्ट छिन् । उनले महिला भएर बैंकमा काम गर्दै गर्दा केही चुनौती सामना गर्दै आए पनि अबको केही समयमा त्यो कठिनाइ कम हुने उनको बुझाई छ । उनले बैंकिङ्ग क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला शिक्षित हुन आवश्यक रहेको बताउँछिन् । मेहनतले सफल हुने बताउँछिन् । उनी महिलाहरू नेतृत्व सम्हाल्न सक्षम रहेको बताउँछिन् । उनी महिलाहरूलाई बैंक प्रवेश गर्दा धेरै पढ्नुपर्ने बताउँछिन् ।
(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)
प्रतिक्रिया