‘अफिसर लेभल’बाट नेपाल बैंक छिरेकी समताको डिसीईओसम्मको यात्रा

‘अफिसर लेभल’बाट नेपाल बैंक छिरेकी समताको डिसीईओसम्मको यात्रा


काठमाडौं – मानिसहरुको जीवनमा कहिलेकाँही परिस्थिती कस्तो आइदिन्छ भने आफुले सोच्दै नसोचेको काम मिलिदिन्छ । हो, नेपाल बैंककी नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) समता पन्तको जीवनमा पनि त्यस्तै भयो । उनले नेपाल बैंकमा जागिर खाएर यो पदसम्म आइपुग्ने सोचेकी पनि थिइनन् । उनलाई प्राइभेट बैंकप्रति रुचि जाग्दै थियो र सोही समयमा सरकारी बैंकबाट जागीर सुरु गरिन् ।

काठमाडौंमा नै जन्मेकी समता सयुक्त परिवारमा हुर्काेकी हुन्, जसले गर्दा बाल्यकाल निकै अविस्मरणीय बनेको छ । आफू पढाईमा उत्कृष्ट रहेको र गणित विषयमा सानैदेखि रुचि राख्ने गरेको समता बताउँछिन् । बाल्यकालमा समताले अर्धसरकारी विद्यालयबाट अध्ययन सुरुवात गरिन् र स्नातक र स्नातकोत्तर शंकरदेव क्याम्पसबाट गरिन् ।

सानो छँदा उनलाई यहिँ क्षेत्रमा जाने भन्ने किसिमको कुनैपनि इच्छा जागेको थिएन । समताले नेपालमा प्राइभेट बैंकहरुको स्थापना हुनु अघि उनले बैंकिङ्ग क्षेत्रका बारेमा बुझेकी पनि थिइनन् । विस्तारै नेपालमा प्राइभेट बैंकहरु आएसँगै उनलाई बैंकिङ्गमा रुचि बढ्दै गयो । नेपाल बैंकमा रोजगारी सुरु गर्ने र डिसीईओसम्म बन्ने कल्पना समेत नगरेको उनको भनाई छ । ‘निजामतीभन्दा बैंकमा नै जानुपर्छ भन्ने खालको सोचाई चाँहि पहिले नै थियो’ उनी भन्छिन् ।

जब उनले कमर्स पढ्दा सुरु गरिन् तब उनलाई बैंकिङ्ग क्षेत्रमा इच्छा जाग्न थालेको थियो । उनी सानो छँदा नै उनका बुबाको निधन भएकाले समताले बुबाको माया महशुस गरेकी छैनन् । त्यसपछि घरको जिम्मेवारी काकाको काँधमा आयो र उनले पढाई नसकिएसम्म जागीर गर्न दिएनन् । समतालाई स्नातक गर्दै जागीर गर्न मन भएपनि पढाई बिग्रने हुँदा जागीरको सुरुवात पढाइ सकेपछि मात्र गर्न काकाले सुझाव दिन्थे ।

सो सुझाव पछ्याउँदै पढाई सकेर जागीर सुरु गरेकी समता पढाई सक्किदासम्म विवाह बन्धनमा पनि बाधिएकी थिइन् । विवाह लगतै उनले सन्तान पनि जन्माइन् । त्यतिबेला उनको थेसिस चलिरहेको थियो र लगत्तै नेपाल बैंकमा आवेदन खुलेको थियो । उनको सन्तान सानो भएपनि उनले आवेदन दिने निर्णय गरिन् र सोही समयमा उनले नाम निकालिन् । उनले जिन्दगीको पहिलो जागीर नै नेपालको पहिलो बैंक नेपाल बैंकबाट सुरु गरेकी हुन् ।

उनलाई सुरुमा सानो बच्चा छाडेर जागीरमा जान सुरुसुरुका दिनमा निकै गाह्रो भयो । ‘कामको सुरुवाती दिनहरुमा साढे दुई वर्षको बच्चालाई छाडेर काममा जान एकदमै गाह्रो थियो’ उनी भन्छिन् । हाल उनका परिवारमा उनका श्रीमान, दुई जना छोरा र एउटा छोरी छन् । उनलाई काम र परिवारलाई एकैसाथ अघि बढाउन सुरुवाति दिनमा भन्दा सहज भएको बताउँछिन् । ‘मान्छेहरुले समय व्यवस्थापन धेरै गाह्रो भन्छन् । तर, मलाई कहिल्यै त्यस्तो फिल भएन परेपछि म्यानेज हुँदो रहेछ’ उनी भन्छिन्।

बैंक प्रवेश गर्दा बैंकका विभिन्न चुनौतीहरु थिए । त्यसमध्ये बैंक प्रवेश गर्दा बैंकको एनपीए अत्यधिक बढ्दो अवस्थामा रहनु मूख्य चूनौती थियो । नेपाल बैंकमा ‘अफिसर लेभल’बाट प्रवेश गरेकी थिइन् उनी । आफ्नो करिअरको कुरा गर्दा बैंक प्रवेशको क्षणलाई निकै महत्वका साथ सम्झँदै भन्छिन्, ‘मेहनतले नै प्रमेशन हुँदै जाँदा यो तहसम्म पुगेकोमा आफ्नो करियरको माइलस्टोन ‘रिर्टन इक्जाम’ लाई मान्छु ।’ समता यो तहमा आउनुमा महत्वपूर्ण भूमिकमा उनको परिवारको छ ।

महिलाका लागि उत्कृष्ट क्षेत्र बैंकिङ्ग

समताको बुझाईमा बैंकिङ्ग क्षेत्र महिलाका लागि निकै उत्कृष्ट क्षेत्र हो । उनका बुझाईमा बैंकिङ्ग क्षेत्रमा रोजगारी गर्दा सुरक्षा, सम्मानले महिलाका लागि राम्रो क्षेत्र रहेको उनको बुझाई छ । करिअर ग्रोथका लागि पनि बैंकिङ्ग क्षेत्र अगाडी रहेको उनले बताइन् । उनी बैंकिङ्ग क्षेत्रमा आफ्नो कामे पेसा प्रति एकदमै सन्तुष्ट छिन् । उनी आफ्नो काम लगनशिल भएर गर्ने गर्छिन् । समताको बुझाईमा महिला पुरुषको तुलनामा नेतृत्व गर्ने हिसाबले हेर्दा बढि सक्षम रहेको बताउँछिन् ।

‘जुनसुकै क्षेत्रमा काम गर्न पनि मेहेनत नै हुनुपर्छ, जति पनि महिला यो क्षेत्रमा छन् सबै आफ्नो मेहेनतले आएका छन्’ उनी भन्छिन् । पछिल्लो चरण बैंकिङ्ग क्षेत्रमा महिलाको संख्या बढ्दै जानुमा पनि महिलाको सक्षमता भएको बताइन् । उनले बैंकिङ्ग क्षेत्रमा आएपछि काम गर्नसके अगाडी बढ्न कसैले रोक्न नसक्ने बताउँछिन् । उनले बैंकिङ्ग क्षेत्रमा नयाँ आउने महिलालाई बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेपछि लगाव दिएर काम गर्नुपर्ने, आफ्नो कामलाई माया, मिहिनेत गर्नुपर्ने र आफूमा विश्वास गरेमा सहज हुन्छ ।

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)