बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वीजरल्याण्ड सरकारले विभिन्न देशबाट वैदेशिक रोजगारी गरी नेपाल फर्किएका नेपालीहरुको जीवनस्तर वृद्धिको लागि ८६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
स्वीस सरकारले “रिइन्टीग्रेसन अफ रिर्टनी माइग्रेन्ट वर्कर” परियोजना मार्फत उक्त रकम नेपाललाई सहयोग गरेको हो । नेपाल फर्किएका श्रमिकहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक जीवन सुधार र विदेशमा आर्जन गरेको ज्ञान, सीप नेपालमै उपयोग गर्न आवश्यक पर्ने सबै प्रबन्ध मिलाउनको लागि स्वीजरल्यान्डले सहयोग गरेको हो ।
यस परियोजना अन्तर्गत प्राप्त हुने सहयोग रकम प्रदेश १ र मधेस प्रदेशका २० वटा स्थानीय तहमा उपयोग गरिनेछ । उक्त सहयोग परिचालन आगामी जुलाई महिनाबाट कार्यान्वयन गरिने छ । परियोजनाबाट प्राप्त सहयोग रकमलाई नेपालको रातो किताबमा समावेश गरिएको छ । उक्त परियोजना नेपालको तर्फबाट अर्थ मन्त्रालयका सह-सचिव इश्वरी प्रसाद अर्याल र स्वीजरल्यान्डको तर्फबाट स्वीस राजदुतावासकी सिल्भाना होगले आज हस्ताक्षर गरेका छन् ।
होगले यस सम्झौताले वैदेशिक रोजगारबाट नेपाल फर्किएका नागरिकहरुलाई आफूले आर्जन गरेको सीपको सदुपयोग गर्न सघाउने र नेपालमा उद्यमशीलता विकासका लागि आवश्यक पर्ने पुँजी जुटाउन सहयोग गर्ने बताइन् । यसैगरी सह सचिव अर्यालले यस किसिमका परियोजनाले स्वदेश फर्किएका श्रमिकहरुको पुर्नस्थापनामा सहयोग पुर्याउने बताए ।



About Us
प्रतिक्रिया