डिपोजिट नपाएर बैंकहरु दिक्कः तोकिएको सिडी रेसियो पुर्याउन बैंकहरुलाई अझैं २१९ अर्ब निक्षेप आवश्यक  

डिपोजिट नपाएर बैंकहरु दिक्कः तोकिएको सिडी रेसियो पुर्याउन बैंकहरुलाई अझैं २१९ अर्ब निक्षेप आवश्यक  

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक वित्तीय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) तोकिएको सिमा नजिक पुगेको छ। जेठ १६ गतेसम्मको तथ्यांकअनुसार बैंक वित्तीय संस्थाहरुको  औषत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९०.११ % रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात ९०.२४% रहेको छ भने बिकास बैंकहरुको र फाइनान्स कम्पनीहरुको क्रमश: ८९ % र ८९.३२ % रहेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार बैंक वित्तीय संस्थाहरुले यहि असार मसान्तसम्म कर्जा निक्षेप अनुपात ९० % मा ल्याउनुपर्ने हुन्छ।

जेठ १६ गतेको तथ्यांकअनुसार बैंक वित्तीय संस्थाहरुले ४९ खर्ब ६२ अर्ब निक्षेप संकलन गरि ४७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका छन्। जसमा वाणिज्य बैंकहरुले जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ८३ अर्ब निक्षेप संकलन गरि ४१ खर्ब ९८ अर्ब ९८ करोड कर्जा लगानी गरेको  नेपाल बैंकर्स संघले जनाएको छ। 

तोकिएको सिडी रेसियो पुर्याउन बैंकहरुलाई अझैं २१९ अर्ब निक्षेप आवश्यक 

तोकिएको कर्जा निक्षेप अनुपात पुर्याउन बैंकहरुलाई असार मसान्तसम्म थप २१९ अर्ब आवश्यक पर्ने बैंकका सीईओहरुको भनाई छ। उनीहरुकाअनुसार सिडी रेसियो मिलाउन ७२ अर्ब, डिबेन्चर व्यवस्थापन गर्न ११७ अर्ब, र स्थानीय तहको पैसाको व्यवस्थापन गर्न ३० अर्ब गरि बैंकहरुलाई असार मसान्तसम्म झन्डै २१९ अर्ब चाहिन्छ। 

अहिलेसम्म डिबेन्चरलाई पूंजी वा निक्षेपमा देखाउन पाइने भएपनि साउन १ देखि कुनै एकमा मात्र देखाउनुपर्ने हुन्छ। अधिकांश बैंकहरुले पूंजीबाट निक्षेपमा देखाएका हुनाले निक्षेप व्यवस्थापनको लागि पनि २७ वटा बैंकहरुलाई ११७ अर्ब रुपैयाँ थप निक्षेप आवश्यक पर्ने देखिन्छ। 

कस्तो छ वर्तमान अवस्था ? 

असार महिनामा सरकारले धेरै खर्च गर्ने भएकाले अहिलेसम्मको अवस्था हेर्दा असार मसान्तमा ठुलो निक्षेप बैंकिङ्ग प्रणालीमा आएको देखिन्छ। आर्थिक बर्ष २०७७/०७८ मा वाणिज्य बैंकहरुको कुल निक्षेप ५ खर्ब ४ अर्ब रहेकोमा त्यो बर्षको असार महिनामा मात्रै २ खर्ब १० अर्ब निक्षेप संकलन भएको थियो। 

वाणिज्य बैंकहरुमा असार महिनामा जम्मा भएको निक्षेपको तथ्यांक 

आर्थिक बर्ष            असार महिना     कुल निक्षेप 
२०७२/०७३          १ खर्ब ३८ अर्ब        ३ खर्ब १ अर्ब 

२०७३/०७४          १ खर्ब २३ अर्ब         ३ खर्ब ३५ अर्ब 

२०७४/०७५          १ खर्ब १ अर्ब          ३ खर्ब ५४ अर्ब 

२०७५/०७६           १ खर्ब १९ अर्ब        ४ खर्ब ८ अर्ब 

२०७६/०७७           २ खर्ब ११ अर्ब        ६ खर्ब ९ अर्ब 

२०७७/०७८           २ खर्ब १० अर्ब        ५ खर्ब ४ अर्ब 

२०७८/०७९            १ खर्ब ८२ अर्ब  (जेठसम्म) 

यस अगाडी असार महिनामा मात्रै संकलन हुने निक्षेपको ट्रेन्डलाई आधार मान्दा असार महिनामा मात्रै १ खर्ब भन्दा बढी कमर्शियल बैकंमा निक्षेप थपिने आंकलन गर्न सकिन्छ।