नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग दिने भारतको घोषणा


काठमाडौं – भारतले नेपालको पुनर्निर्माण, बाढीपीडितको पुनर्स्थापना र दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ (२ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको विकास सहयोग घोषणा गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको उच्चस्तरीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त सहयोग घोषणा गरेका हुन्।

मोदीले नेपाललाई समृद्ध र विकसित बनाउने यात्रामा भारत सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। उनले बाढीपीडितको पुनर्स्थापना तथा दीर्घकालीन विकासलाई नयाँ गति र मजबुती दिन भारतले विकास सहयोग उपलब्ध गराउने बताए।प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै मोदीले संयुक्त राष्ट्रसंघमा शाहले गरेको सम्बोधनबाटै उनको दृष्टिकोण र सोच स्पष्ट भएको आफूले पाएको बताए।

‘विश्वकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनबाट नै उहाँको भिजन स्पष्ट रहेको मैले पाएको थिएँ,’ मोदीले भने। नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै मोदीले यसलाई अटुट विश्वासको सम्बन्धका रूपमा व्याख्या गरे। ‘हामी एकअर्काको प्रगतिमा साथी हौँ। दुःखको अवस्थामा एकअर्काको सहारा पनि हौँ,’ उनले भने।

मोदीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै सन् २०१८ मा जनकपुर भ्रमणका क्रममा आफूले दिएको अभिव्यक्ति पनि स्मरण गरे। ‘नेपालबिना हाम्रो धाम र हाम्रो राम अधुरो हुन्छ,’ उनले भने। यसैगरी, भारतले नेपालसँगको सीमा पूर्वाधार तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएको मोदीले बताए। उत्तराखण्ड र नेपालबीच धार्चुला तथा बनबासामा पूर्वाधार विकासका काम अघि बढिरहेको उनको भनाइ थियो।

दोधारा–चाँदनी एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै उनले बिहार, उत्तर प्रदेशलगायत भारतीय प्रदेश र नेपालबीच सडक सम्पर्क विस्तार गर्ने योजना पनि सुनाए। त्यस्तै, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण विस्तार हुने भएको छ। झापामा पेट्रोलियम टर्मिनल निर्माण तथा बनबासा–दोधारा–चाँदनी एकीकृत जाँच चौकीको शिलान्याससमेत गरिएको छ। यी पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका परियोजनाले नेपाल–भारत व्यापार, पारवहन र आर्थिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।