गर्भनर अधिकारी भन्छनः बैंकहरुले ‘ग्रिन फाइनानसिङ’ गर्नै पर्छ, ग्रिन इनर्जी आजको आवश्यकता हो

गर्भनर अधिकारी भन्छनः बैंकहरुले ‘ग्रिन फाइनानसिङ’ गर्नै पर्छ, ग्रिन इनर्जी आजको आवश्यकता हो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूले ‘ग्रिन फाइनानसिङ’मा जोड दिनु पर्ने बताएका छन् । बुधबार संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले आयोजना गरेको नेपालमा ग्रिन फाइनान्सिङकाे सम्भावना सम्बन्धि कार्यक्रममा धारणा राख्दै उनले बैंक तथा वित्तीय संस्थाहरूले ग्रिन फाइनानिसङमा जाेड दिनु पर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकले पनि ग्रिन फाइनान्सिङमा जोड दिएको बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपाल राष्ट्र बैंकको नीति अनुरूप अगाडि बढ्नु पर्ने धारणा राखे ।

‘ग्रिन फाइनान्सिङले आर्थिक स्थायित्वमा सहयोग पुग्छ, बैंक तथा वित्तीय संस्थाहरूका लागि पनि एउटा स्ट्रेन्थ बन्न सक्छ, नेपाल राष्ट्र बैंकले पनि ग्रिन फाइनान्सिङमा जोड दिँदै आएको छ, औपचारिक वा अनौपचारिक रूपमा हामीले बैंकहरूलाई भन्दै पनि आएका छौं,’ गभर्नर अधिकारीले भने ।

यस्तै, उनले ग्रिन फाइनान्सिङलाई प्रबर्द्धन गर्नको लागि राष्ट्र बैंक प्रतिवद्ध रहेको धारणा राखे । नेपाल राष्ट्र बैंकले नवीकरणीय ऊर्जा परियोजनाहरूमा बैंक वित्तीय संस्थाको लागि ऋण दिने नीतिगत व्यवस्था गरेको पनि उनको भनाइ छ । वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धि राष्ट्र बैंकले नीतिगत व्यवस्था नै गरेको बताउँदै अब बैंकहरूले वार्षिक रूपमा त्यसको प्रतिवेदन पनि सार्वजनिक गर्नु पर्ने धारणा राखे ।

यस्तै, कार्यक्रममा अर्थविद् डा. विश्वास गौचनले नेपालमा ग्रिन फाइनान्सिङको उच्च सम्भावना रहेको बताए । उनले पनि आजको आवश्यकता ग्रिन फाइनान्सिङ नै भएको बताउँदै अहिले विश्वमा ग्रिन फाइनान्सिङ एउटा सम्भावनाका रूपमा देखा परेको धारणा राखे । बैंक तथा वित्तीय संस्थाहरूले पनि अर्थतन्त्रको विकासका लागि दीगो तथा समतामुलक भविष्यका लागि रणनीतिक रुपमा ग्रिन फाइनान्सिङ, क्लाइमेट चेन्ज फाइनान्सिङमा थप लगानी गर्नु पर्ने उनको भनाइ छ ।

‘फाइनान्सियल सर्भिसमा लिड गर्ने हो भने सम्भावनाका क्षेत्रहरू ग्रिन टेक्नोलोजी, ग्रिन फाइनान्सिङ, इलेक्ट्रिक कार, क्लिन इनर्जी, बायो टेक्नोलोजीमा लगानी बढाउनु पर्छ, ६९ प्रतिशत उर्जा बायो ग्याँसको छ, राजनीतिक अस्थितरताले पनि यसमा केही प्रभाव पार्छ, राष्ट्रको समग्र विकासको महत्वपपूर्ण तत्व ग्रिन इनर्जी पनि हो,’ उनले भने ।

यूनएनडीपीका नेपाल प्रतिनिधि आइसनी मेडागंगोडे लाबेले अहिले विश्वका विभिन्न देशहरूले ग्रिन फाइनान्सिङलाई प्रभावकारी रूपमा अगाडि बढाएको बताइन् । उनले कम कार्बन अर्थतन्त्रतर्फ लैजाने रणनीतिको रूपमा काम भइरहेको धारणा राखिन् । उनले वित्तीय उपकरण र प्रविधिको आविष्कार गरी विश्वव्यापी, क्षेत्रीय र स्थानीय रूपमा प्रभावकारी साझेदारी स्थापना गरी ग्रिन फाइनान्सिङमा जोड दिनु पर्ने बताइन् ।

इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सन् २०१७ ले गरेको एक अध्ययनले सन् २०१८ देखि २०३० सम्म नेपालमा ४६ अर्ब अमेरिकी डलरको कुल जलवायु–स्मार्ट लगानी अवसर अनुमान गरेको देखाएको बताउँदै यस कार्यक्रममा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन् ।

‘ग्रिन फाइनान्सिङलाई प्रोत्साहन निजी क्षेत्र र यूएनडीपी जस्ता विकास साझेदारहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य आवश्यक छ, संघ प्रदेश र स्थानीय तह स्तरसम्म पनि ग्रिन फाइनान्सिङका परियोजनाहरू अगाडि बढाउन सकिन्छ, त्यसका लागि ग्रिन बन्ड जस्ता उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक छ,’ उनले भनिन् ।