‘डग च्यु’: कसरी भयो अमेरिकासँग नेपालको ३ अर्बको ब्यापार ? 

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

के हो डग ‘डग च्यु’ ? कसरी बनाइन्छ ? 

बैंकिङ्ग समाचार, काठमाडौँ । 

उच्च पहाडी भेगका चौँरी गाई तथा गाईको दूधबाट बनेकको एक प्रकारको छुर्पीको निर्यातका कारण नेपालको अमेरिकासँगको व्यापारमा निर्यातको अंश वृद्धि भइरहेको छ । लगातार पाँच वर्षसम्मको व्यापार घाटापश्चात् यसपालि अमेरिकासँगको व्यापार नाफामा गएको देखिएको छ । त्यसमा ‘डग च्यु’ भनिने कुकुर तथा बिरालाले खाने आहाराको निर्यातको योगदान उल्लेखनीय रुपमा वृद्धि भइरहेको तथ्याङकमा देखिन्छ ।  व्यापार तथा निकासी प्रवर्धन केन्द्रले प्रकाशित गरेको अन्तर्राष्ट्रिय व्यापारतर्फ आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा  नेपालले सबभन्दा धेरै निकासी गरेको देशमा अमेरिका दोस्रो स्थानमा छ । यसमा पनि मुख्यतः ‘डग च्यू’ नामक कुकुरको आहारा निर्यात भएको देखिन्छ । 
नेपालसँग हुने विदेशी ब्यापारमा निर्यातभन्दा धेरै आयातीत वस्तुहरुकै हुन्छ ।

\"\"

नेपालले जति निर्यात गर्छ त्यसको १० गुना आयात गर्छ। नेपालको ब्यापारमा पहिलो स्थानमा भारतसँग भएको छ भने दोस्रो स्थानमा अमेरिका छ । आयातकै कुरा गर्ने हो भने अत्याधिक ब्यापार भारतसँग छ । आज पनि भारतसँग नेपालको ९ खर्ब रुपैयाँभन्दा धेरैको विकराल व्यापार घाटा छ । जबकि अमेरिकासँग भने १९ अर्ब ५७ करोडको निर्यात र १९ अर्ब ४२ करोडको आयातसहित १४ करोडभन्दा धेरैको नाफा भएको छ ।
\"\"
विगतका आँकडा हेर्ने हो भने अघिल्लो वर्ष अमेरिकासँग झन्डै ३२ अर्बको घाटा थियो भने आर्थिक वर्ष २०७४/७५ यता लगातार घाटा भइरहेको थियो। सर्सर्ती हेर्दा अमेरिकामा नेपालबाट सबभन्दा धेरै निकासी हुने वस्तुमा ७ अर्बभन्दा धेरै रकम बराबरको गलैँचापछि दोस्रो स्थानमा झन्डै ३ अर्ब रुपैयाँ सहित कुकुरको आहारा परेको छ । त्यसपछि मात्रै तयारी पोशाक, पश्मिना, हस्तकलाका सामग्री आदि आउँछन । विगतमा नेपालबाट निकासी गर्न सम्भाव्य वस्तुहरूको सूचीमा ऊन, गलैँचा, तयारी पोशाक, चिया, मह आदि वस्तु पर्ने गर्दथे। तीमध्ये धेरै वस्तुहरूको निकासी या त स्थिर रहन पुगेको छ या भने अपेक्षाकृत बढ्न सकेको छैन। तर केही समय यता ‘डग च्यु’ भनिने कुकुरले मन पराउने छुर्पीको ब्यापार बलियो छ ।  यसको ब्यापार अमेरिकासँग मात्रै नभई क्यानडा, मेक्सिको र युरोपका अन्य देशहरूमा पनि छ ।

नेपालमा रहेको यससम्बन्धी कम्पनी लेकाली कर्पले खासगरी इलामका दुग्ध कृषकहरूसँग मिलेर काम गरिरहेको छ । त्यहाँ उत्पादित कच्चा छुर्पीलाई काठमाण्डूस्थित कारखानामा प्रशोधन तथा प्याकेजिङ गरेर तिनको निर्यात गरिन्छ । कम्पनीका अनुसार नेपालमा यस्ता ३०–४० निर्यातकर्ता छन । नेपालमा विगतमा पनि कुनै समय गलैँचा त कुनै समय पश्मिना अनि कुनै समय तयारी पोशाकको अत्यधिक निकासी सम्भावना मानिन्थ्यो। तर अन्तर्राष्ट्रिय परिवेशमा आएका परिवर्तन, आयातकर्ता देशले लगाइदिएका शुल्क वा गुणस्तरको कारण तिनले अपेक्षाकृत ब्यापार गर्न सकेनन । तर डग च्यूको निर्यातको भविष्य भने नेपालमा उज्ज्वल नै देखिन्छ। किनकि विदेशमा यसको माग निकै उच्च छ। अमेरिकामा मात्रै घरपालुवा जनावरको आहाराको बजार सन् २०२२ मा ५८ अर्ब डलर, ७५ खर्ब रुपैयाँ बराबरको रहेको आंकडा छ । 

आखिर के हो त ‘डग च्यु’ ? कसरी बनाइन्छ ? 

हड्डी वा अन्य कृत्रिम वस्तुको साटो कुकुरलाई चबाउन दिन पश्चिमी देशहरूबाट दूधलाई प्रशोधन गरेर बनाइने डग च्यु विशेष प्रकारको छुर्पी हो। कुकुरलाई घ्यू नपच्ने हुँदा दूधमा भएको चिल्लो पदार्थको मात्रा पूरै झिक्नुपर्छ। मान्छेले खानेमा चाहिँ चिल्लो अलिक राखेर बनाउँदा छुर्पीको तौल पनि बढी हुन्छ र खाँदा स्वादिष्ट पनि हुन्छ । उच्च गुणस्तरको छुर्पीबाट डग च्यु बनाउन धेरै गाह्रो हुने किसानहरु बताउँछन । यसको सतह चिल्लो हुनुपर्छ । फुलेको हुनु हुँदैन । यसमा शून्य प्रतिशत चिल्लो पदार्थ राख्नुपर्ने मापदण्ड छ । त्यसका लागि दूधलाई फटाएर विभिन्न प्रक्रियाहरू पूरा गर्दै छुर्पी बनाउनुपर्छ ।
\"\"
दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौ वस्तुले किचेर राख्नुपर्छ । त्यसपछि सुरुमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउँमा राख्नुपर्छ र क्रमश तातोमा सार्दै लानुपर्छ । छुर्पी सुकाउन धुवाँ चाहिन्छ। यसरी एक महिना लगाएर छुर्पी सुकाइन्छ । त्यसका लागि धुवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउनुपर्छ । कृषकले एक महिनादेखि ४५ दिनसम्म लगाएर तयार पारेको छुर्पीलाई कम्तीमा ६ महिनासम्म प्रशोधन गरेर मात्र अन्तर्राष्ट्रिय बजारमा पठाउँछन ।

 इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी अमेरिकी र युरोपेली मुलुकमा निकासी गरिन्छ ।