भावना अवस्थी, काठमाडौं ।
आर्थिक सङ्कटका कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको गत आवको चैत मसान्तसम्म वित्तीय विवरण अनुसार तेस्रो त्रैमासिकमा वाणिज्य बैंकहरुको खराब कर्र्जाको आँकडा बढेर ३.०३ प्रतिशत पुगेको छ । खराब कर्जा बढेकै कारण केही बैंकहरुको मुनाफामा असर परेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणहरुमा देखिन्छ ।
खराब कर्जा बढेपछि वाणिज्य बैंकहरुको नाफामा भने सामान्य मात्रै सुधार देखिएको छ । चैतसम्ममा २१ वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । पोहोरको तुलनामा ११ दशमलव ६७ प्रतिशतले नाफा बढेको हो । यो मध्ये खराब कर्जा कम हुने बैंकहरुको नाफा वृद्धिदर धेरै देखिएको छ भने खराब कर्जा धेरै बढेका बैंकहरुको नाफा वृद्धिदर कम छ ।
वित्तीय विवरणअनुसार ३ बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगेको छ । चैतमा सबैभन्दा बढी हिमालयन बैंकको खराब कर्जा अनुपात ४ दशमलव ५६ प्रतिशत पुगेको छ । कृषि विकास बैंकको खराब कर्जा अनुपात ४ दशमलव ३५ र नेपाल बैंकको ४ दशमलव १६ प्रतिशत छ । चैतमा सबैभन्दा कम खराब कर्जा अनुपात एभरेष्ट बैंकको शून्य दशमलव ७० प्रतिशत छ । एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा कम रहेको छ ।
ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरुको खराब कर्जा बढेको देखिन्छ । बढ्दो महँगी, खस्कँदो व्यवसाय लगायतका कारण ऋणीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् । एकातिर कर्जाको ब्याजदर बढ्नु र अर्कातिर उद्योग व्यवसायमा मन्दी आउनुले खराब कर्जा बढ्न भूमिका खेलेको छ । कर्जाको ब्याजदर बढ्दा एक वर्षयता उद्योग व्यवसायमा मन्दी आएको छ ।
विकास बैंकहरूको पछिल्लो समय खराब कर्जा बढ्दै जानुमा अर्थतन्त्रको संकुचन मुख्य कारक रहेको आंकलन गर्न सकिन्छ । अर्थतन्त्रमा संकुचन आउँदा गाउँगाउँमा त्यसको असर देखिएको छ । ठूला व्यवसायीलाई मात्र नभई पछिल्लो समय स–साना व्यवसाय गर्ने व्यवसायीहरूमा अर्थतन्त्रको संकुचनको असर देखिएको छ । आर्थिक गतिविधिमा कमी भएपछि त्यसको असर ऋणीहरूलाई परेको देखिन्छ । आर्थिक गतिविधिमा आएको संकुचनले गर्दा मानिसको नगद प्रवाहमा असर परेको पाइन्छ, जसले कर्जा असुलीका लागि गाह्रो परेको छ ।
के हो खराब कर्जा ?
बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि तोकिएको अवधिमा सावाँ तथा ब्याज भुक्तानी गर्ने शर्तमा ऋण्ीहरुलाई कर्जा दिएका हुन्छन् । यदि, तोकिएको समयमा ऋणको सावाँ वा ब्याज भुक्तानी पाउन सकेनन् भने बैंकहरुले त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गर्दछन् । बैंकिङ्ग क्षेत्रमा सामान्यतयः ऋणीले साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने मितिबाट ९० दिन बितेको खण्डमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ ।
बैंक तथा वित्तीय संस्थामा खराब कर्जा जति कम भयो बैंक तथा वित्तीय संस्थाको अवस्था त्यति नै राम्रो मानिन्छ । केन्द्रीय बैंकले बैंकहरुलाई खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा तल हुनुपर्ने भनेको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक रानाले ऋणीहरुले कर्जा समयमै नतिरेर केहि हदसम्म खराब कर्जा बढेको बताएका छन् ।
‘ऋणीहरुले कर्जा समयमै नतिरेको भएर यस्तो भएको हो तर दोस्रो त्रैमासिक तंथ्याक हेर्दा खराब कर्जा बढेको देखिएपनि त्यति धेरै नै खराब कर्जा बढेको होइन’ उनले भने । समग्र रुपमा हेर्दा बैंकहरु अहिलेसम्म पनि बलियो अवस्थामा रहेको उनको भनाई छ । जसले गर्दा केही खराब कर्जा बढ्नु र मुनाफामा गिरावट आउनु जस्ता कुराहरुले आत्तिइहाल्नु पर्ने अवस्था नरहेको भएपनि वृद्धि भएको खराब कर्जाबारे गम्भिर नबन्ने हो भने कट भविष्यमा अकल्पनिय समस्याको समाधान गर्नुपर्ने हुनसक्ने उनले अनुमान गरेका छन् ।
बैंकहरुको साउनसम्मको प्रोजेक्सन के हो ?
नेपाल राष्ट्र बैंकले कोभिडको कारण स्थगित गरेको काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याउँदै बताइसकेको छ । हाल बैंकहरुले साढे ८ प्रतिशत प्राथमिक पूँजीकोष र साढे २ प्रतिशत सहकायक पूँजीकोष गरी ११ प्रतिशत पूँजीकोषमा कायम गर्दै आएकोमा थप बफर पूँजीकोष कार्यन्वयनमा लैजान लागेको हो । यसले बैंकहरुलाई व्यवसाय विस्तार गर्न थप पूँजीको आवश्यकता पर्छ । काउन्टर साइक्लिकल बफरको व्यवस्थाले कर्जाको अनियन्त्रित प्रवाहलाई नियन्त्रण गर्न मद्दत गर्छ । वित्तीय संकटको तीव्र दबाबको सामना गर्न बैंकहरूलाई सक्षम बनाउने उद्देश्यले यो बफरको व्यवस्था गरिएको हो ।
काउन्टर साइक्लिकल बफरको दर अर्थतन्त्रमा हुने समग्र कर्जा विस्तार र कुल गार्हस्थ्य उत्पादनको अन्तरको आधारमा निर्धारण गरिन्छ । अर्को शब्दमा देशको समग्र अर्थव्यवस्थाको (म्याक्रो इकोनोमी) विभिन्न आयामको आधारमा यो बफर दर निर्धारण हुन्छ । अहिले नेपाल राष्ट्र बैंकले यसलाई २ प्रतिशत तोकेको छ । यही व्यवस्थाका कारण बैंकहरुलाई अब थप पुँजीको आवश्यकता पर्ने देखिन्छ । यसले गर्दा पनि अहिले बैंकहरुले पैसा होल्ड गरेर राखिरहेको अवस्था छ ।
बैंकहरुको खराब कर्जा बढ्दा त्यसको असर नाफामा देखिएको छ । खराब कर्जा कम हुने बैंकहरुको नाफाको बृद्धिदर धेरै देखिएको छ भने खराब कर्जा धेरै बढेका बैंकहरुको नाफाको बृद्धिदर कम छ । केहि बैंकको नाफाको बृद्धिदर नकारात्मक छ ।
नाफा व्यवस्थापन गर्नको लागि केहि बैंकहरुलाई खराब कर्जा नियन्त्रण गर्नुपर्ने देखिन्छ । आगामी दिनमा खराब कर्जा नियन्त्रण गर्न सके उनीहरुले पनि नाफा सन्तोषजनक हुने देखिएको छ ।
वाणिज्य बैंकलाई कर्जा उठाउन सकस
पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई ऋण उठाउन समस्या भएको छ । सर्वत्र आर्थिक मन्दीले प्रभाव पारिरहेको बेला बैंक तथा वित्तीय संस्थाहरुलाई उल्टै आफूहरुले प्रवाह गरेको ऋण असुल्न सकस परेको हो ।
सबैभन्दा बढी वाणिज्य बैंकहरुलाई ऋण उठाउन समस्या भएको देखिन्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर धेरै भएको भन्दै ऋणीहरुले आन्दोलन गर्दै आएका भएर पनि वाणिज्य बैंकहरुलाई कर्जा उठाउन सकस परेको देखिन्छ ।



About Us
प्रतिक्रिया