सेबोन अध्यक्षमा १५ जनाको आवेदन, आज अन्तिम दिन


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन्। अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आवेदन खुलाएको आज सोमबार अन्तिम दिन हो।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण पेस गरेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको ‘लब्ध प्रतिष्ठित’ व्यक्ति हुनुपर्ने प्रावधान छ।

त्यसैगरी, आवेदक नेपाली नागरिक, उच्च नैतिक चरित्र भएको र सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ। कानुनअनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा सजाय पाएकाहरू अयोग्य ठहरिनेछन्। यसबाहेक कालोसूचीमा परेको र तीन वर्ष नपुगेको, विदेशी मुलुकको स्थायी बसोबास अनुमति लिएको, सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न रहेको वा मानसिक सन्तुलन ठिक नभएको व्यक्ति पनि अयोग्य हुने व्यवस्था छ।