राजनीतिक नियुक्ति लिएका पदाधिकारीको धमाधम राजीनामा, गभर्नर पद के होला ?


काठमाडौं – नयाँ सरकार गठनसँगै आर्थिक क्षेत्रका विभिन्न निकायमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन्। सरकारलाई मार्ग प्रशस्त गर्ने नाममा सुरु भएको राजीनामाको शृङ्खलाले अब नेपाल राष्ट्र बैंकका गभर्नरको पद के हुन्छ भन्ने विषयमा चासो बढाएको छ।

सोमबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन्। त्यसअघि ४ वैशाखमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि पद त्याग गरेका थिए। अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ सरकारको कार्य योजना सहज बनाउन मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामाको क्रम सुरु भएको हो।

अर्को प्रमुख नियामक निकाय नेपाल बीमा प्राधिकरणमा तत्काल नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको छ। सचिव चन्द्रकला पौडेललाई कार्यवाहक जिम्मेवारी दिइएको छ। सबैभन्दा बढी चासो भने नेपाल राष्ट्र बैंकतर्फ केन्द्रित भएको छ। अघिल्लो सरकारले नियुक्त गरेका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको भविष्य के हुन्छ भन्नेबारे राजनीतिक र आर्थिक वृत्तमा चर्चा तीव्र बनेको छ।

गभर्नर पौडेलले भने सार्वजनिक मञ्चहरूमा आफू कानुनअनुसार प्राप्त कार्यकाल पूरा गर्ने अडान दोहोर्‍याउँदै आएका छन्। तर नयाँ सरकारले उनलाई निरन्तरता दिने कि परिवर्तन गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट संकेत दिएको छैन। राजनीतिक वृत्तमा अर्थमन्त्री वाग्ले गभर्नर परिवर्तनको पक्षमा रहेको चर्चा छ भने प्रधानमन्त्री बालेन्द्र शाह भने उनलाई निरन्तरता दिन सकारात्मक रहेको खबर सार्वजनिक भइरहेका छन्।

हालै गभर्नरको अमेरिका भ्रमणअघि हतारोमा एक जना मात्रै डेपुटी गभर्नर नियुक्त गरिएको घटनालाई पनि धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। यसले राष्ट्र बैंकभित्र नेतृत्व व्यवस्थापन र भावी शक्ति सन्तुलनबारे विभिन्न अड्कलबाजी बढाएको छ। अर्थ मन्त्रालय मातहतका अन्य निकायहरूमा राजीनामाको लहर जारी रहँदा अब सबैको नजर राष्ट्र बैंकतर्फ मोडिएको छ। शेयर बजार, बैंकिङ्ग क्षेत्र र समग्र अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिने गभर्नर पदमा सरकारको निर्णयले आगामी आर्थिक नीतिको दिशा समेत संकेत गर्ने विश्लेषण भइरहेको छ ।