काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ गर्दै आर्थिक रूपान्तरण अघि बढाउने प्रतिबद्धता जनाएका छन्। महासंघको वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्रले अर्थतन्त्रमा करिब ८२ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको उल्लेख गर्दै आगामी तीन वर्ष निजी क्षेत्रको मनोबल बढाउने, लगानी वातावरण सुधार गर्ने र आर्थिक विस्तारमा केन्द्रित हुने बताए।
उनले अहिले मुलुक अवसर र चुनौतीको दोसाँधमा रहेको उल्लेख गर्दै स्थिर सरकार, पर्याप्त तरलता र उच्च विदेशी मुद्रा सञ्चितिलाई अवसरका रूपमा लिनुपर्ने बताए। तर मध्यपूर्व संकट, बढ्दो राजस्व–व्यय अन्तर र निजी क्षेत्रको घट्दो आत्मविश्वासलाई चुनौतीका रूपमा औंल्याए।
श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ अन्तर्गत आर्थिक सुधार, सुशासन, लगानी प्रवर्द्धन, सीप विकास र निजी क्षेत्र संरक्षणका कार्यक्रम अघि सारिने जानकारी दिए। निजी सम्पत्ति सुरक्षा, लगानीमैत्री नीति र विवाद समाधान प्रणाली सुधारमा महासंघले पहल गर्ने उनले बताए । उनका अनुसार महासंघ अब माग राख्ने मात्र नभई समाधान दिने साझेदारका रूपमा अघि बढ्नेछ।
पहिलो, निजी क्षेत्र रसरकारबीचको सम्बन्धलाई पुनःपरिभाषित गर्नेछु।
सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन म निरन्तर पहल गर्नेछु । नीति निर्माणमा, बजेट निर्माणमा, ऐन-कानुन निर्माणमा र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिने र प्रतिविम्बित हुने प्रणाली विकास गर्नेछु ।
दोस्रो, निजी क्षेत्रप्रतिको धारणामा परिवर्तन ल्याउन काम गर्नेछु ।
उद्यमी भनेको शोषक होइन, सम्पत्ति निर्माता हो; व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो यो सत्य समाजमा स्थापित गर्न महासंघले व्यवस्थित अभियान चलाउनेछ ।
तेस्रो, निजी सम्पत्ति, व्यावसायिक हक रलगानीको सुरक्षा सुनिश्चित गर्न पैरवी गर्नेछु।
व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्ति, अग्रिम धरौटीको सुविधाको अभाव, र विवाद समाधानको ढिलो प्रक्रिया — यी समस्याको समाधानमा महासंघ अग्रसर रहनेछ ।
चौथो, नेपालमा निजी लगानी बढाउन ठोस पहल गर्नेछु।
देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने, र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित संवाद गर्नेछु।
पाँचौँ, जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत र क्षेत्रगत संघहरूको कामलाई बढी प्रभावकारी बनाउनेछु।
महासंघ केन्द्रमा मात्र होइन, हरेक जिल्लामा, हरेक प्रदेशमा आफ्ना सदस्यहरूको आवाज बन्नेछ । महासंघ सचिवालयलाई व्यावसायिक, सक्षम र सेवामुखी बनाउनेछु।
आजको आवश्यकता तत्काल राहत मात्र होइन, दीर्घकालीन संरचनागत सुधार पनि हो । आगामी तीन वर्षको कार्यकालका मैले छ स्तम्भ, साठी पहल’ को एक विस्तृत कार्यक्रम तयार पारिसकेको छु । राष्ट्रिय सदस्य सञ्जाल र सेवा उत्कृष्टता, आर्थिक सुधार र सुशासन, प्रतिस्पर्धात्मकता र वृद्धि, विकास सहयोग र निजी क्षेत्र विकास, श्रम-सीप-उत्पादकत्वमा सुधार, र निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण यी छ स्तम्भ अन्तर्गत साठी ठोस पहल समावेश छन्।
जिल्ला, वस्तुगत र सम्बद्ध सदस्यहरूको सेवामा छुट्टै डेस्क, महासंघ सचिवालयको व्यावसायिक रूपान्तरण, व्यापार-अर्थतन्त्र-कानुन-अनुसन्धान शाखाको स्थापना, महासंघको नेतृत्वमा निजी विधेयकको, औद्योगिक क्षेत्र विकास, करार उत्पादन र क्षेत्रीय मूल्य शृङ्खला, व्यावसायिक विवादको गैर-अपराधीकरण, तथा निजी सम्पत्ति र व्यावसायिक अधिकार बडापत्र यी सबै यस कार्यक्रमका मुख्य आधारस्तम्भ हुन्।
मध्य पूर्व संकटबाट सिर्जित समस्याको समाधान, सरकारका सय कार्ययोजनासँगको सहकार्य, निजी क्षेत्रको मनोबल पुनर्स्थापना, र अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारी पनि यसै भित्र समेटिएका छन्। तीन वर्षभित्र मापन गर्न सकिने प्रगतिको प्रतिबद्धता गर्दै, यो पूर्ण कार्यक्रम छिट्टै सार्वजनिक हुनेछ र यसको स्वतन्त्र वार्षिक समीक्षा साधारण सभामा प्रस्तुत हुनेछ।महासंघको आग्रहमा सरकारले मन्त्रीपरिषदबाट पारित गरेको निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा हामीले काम गर्नेछौ । महासंघले पाँच बर्ष पहिले अघि सारेको एक सय खर्बको अर्थतन्त्र, दोहोरो आर्थिक वृद्धि र बार्षिक दुइ लाखलाई रोजगारी दिने गरि मार्गचित्र तयार पारिनेछ ।
आर्थिक सुशासन र सुधारका लागि विशेष पहल गरिनेछ। महासंघको सुदृढिकरणका लागि अनुसन्धानलाई केन्द्रविन्दुमा राखिनेछ । सदस्यहरुको क्षमता वृद्धिका लागि निरन्तर सम्वाद र गुनासो पहिचान एवं समाधान संयन्त्र निर्माण गरिनेछ। यी लगायत साठी कामको कार्ययोजना छिटै सार्वजनिक गर्ने नै छौ। महासंघ कुनै एक उद्योगी वा एक समूहको स्वार्थको प्रवक्ता होइन।महासंघ देशको पाँच लाखभन्दा बढी उद्यमी व्यवसायीको साझा घर हो, र राष्ट्रिय अर्थतन्त्रको साझेदार हो।
सरकारले निजी क्षेत्रलाई साक्षी राख्ने भन्दा पनि सहकार्य गर्ने वातावरण बनाउन जरुरी छ। नीति बनाउँदा, बजेट बनाउँदा, ऐन ल्याउँदा, अन्तर्राष्ट्रिय वार्ता गर्दा हरेक चरणमा निजी क्षेत्रको आवाज सुनिनुपर्छ। यसैगरी, हामी निजी क्षेत्रले पनि सरकारलाई समस्या मात्र होइन, समाधान पनि लिएर जाने प्रतिबद्धता जनाउँछौँ । महासंघले अब केवल माग पेस गर्ने संस्था होइन, समाधानको साझेदार बनेर देखाउनेछ । नीतिगत स्थिरताका लागि हामी आशावादी छौँ । स्थिर सरकार, स्थिर नीति, स्थिर लगानी वातावरण यो त्रिकोण नेपालको आर्थिक रूपान्तरणको आधार हो । र यो त्रिकोणमा निजी क्षेत्र सरकारको पूर्ण सहयात्री हुनेछ।
अन्त्यमा, सधैँ साथ र सहयोगका लागि म सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। महासंघप्रतिको विश्वास र अपनत्वका लागि सम्पूर्ण सदस्यहरूलाई आभार व्यक्त गर्न चाहन्छु। निरन्तर प्रवर्द्धन र खबरदारीका लागि सञ्चारकर्मी साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र, आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।नेपालको आर्थिक रूपान्तरण न त सरकार एक्लैले गर्न सक्छ, न निजी क्षेत्र एक्लैले गर्न सक्छ। यो सहकार्य र साझेदारीको परिणाम हो । र यो साझेदारीको नेतृत्व लिन महासंघ तयार छ।



About Us
प्रतिक्रिया