रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार


रौतहट – प्रहरीले रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इटाँभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ।

भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी ४२ जनालाई अलपत्र परेको अवस्थामा उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

इटाँभट्टा सञ्चालक मोहम्मद मुजामिलले रासनखर्च व्यवस्थापनका लागि भनी चार दिनअघि आफूसँग भारु ६ लाख लिई गएका भारतीय ठेकेदर मोहम्मद नासिर सम्पर्कविहीन भएपछि कामदार अलपत्र परेको जानकारी दिए।

आगामी असारसम्म इटाँभट्टामा काम गर्नेगरी उत्तर प्रदेश मुररावादबाट ल्याइएका आश्रित परिवारसहिका कामदार ठेकेदार एक्कासी सम्पर्कविहीन भएपछि प्रहरीलाई जानकारी गराएको उनले बताए। प्रहरी नायब उपरीक्षक गौतमले बाहिरबाट कामदार ल्याई अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए।