काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अख्तियारका अनुसार अनुसन्धानका क्रममा यादवले आफ्नो पद र जिम्मेवारीअनुसार सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडान गर्नुपर्ने काममा बदनियत पूर्वक ढिलासुस्ती गरेको पाइएको छ। उनले सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिई घुस दिन बाध्य बनाएको र विद्युत् लाइन जडान तथा त्यससम्बन्धी सहजीकरण गरिदिने भन्दै ५० हजार रुपैयाँ घुस माग गरी लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ।
यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै अख्तियारले बिगो ५० हजार रुपैयाँ कायम गरेको छ।आयोगले यादवमाथि सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना सजायको माग दाबी गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।






About Us
प्रतिक्रिया