काठमाडौं – चितवन प्रहरीले बिलबिजकबिनाका मोबाइल बिक्री–वितरण तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका दिपक प्रसाई र तनहुँका उमान्नद भुषाल रहेका छन्। प्रहरीका अनुसार प्रसाईले भरतपुर महानगरपालिका–१ र १० मा सञ्चालन गरेको ‘दिपक मोबाइल’ पसलमा बिलबिजकबिना मोबाइल बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रसाईलाई भरतपुर–१० स्थित हाकिमचोकमा रहेको मोबाइल पसलबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि भरतपुर–१ र १० मा रहेका उनका मोबाइल पसलमा खानतलासी गर्दा बिलबिजकबिनाका विभिन्न मोबाइल तथा आइप्याड बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद सामग्रीमा विभिन्न सिरिजका एपल कम्पनीका ५० थान आईफोन, सामसङ का ४ थान मोबाइल,रेडमीका २ थान मोबाइल, एपल को १ थान आईप्याड र भिभो को १ थान मोबाइल रहेका छन्।
त्यस्तै, २०८३ असोज १८ गते साँझ करिब ७ बजे भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिनाका मोबाइल ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले अर्को कारबाही गरेको थियो। रामनगरबाट जुगेडी तर्फ जाँदै गरेको अवस्थामा भुषाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनको झोला खानतलासी गर्दा बिलबिजकबिनाका एपल कम्पनीका विभिन्न सिरिजका ५ थान आईफोन फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ठूलो परिमाणमा विभिन्न ब्रान्डका मोबाइल तथा आइप्याड बरामद गरी उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सामा पठाएको जनाएको छ।






About Us
प्रतिक्रिया