बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते शुक्रबार मर्जर र लाभांश प्रस्तावलाई स्वीकृति प्रदान गर्ने भएका छन् । दुबै बैंकले एकै दिन वार्षिक साधारण सभा आव्हान गरेका हुन ।
ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, बैंक अफ काठमाण्डूले २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
दुबैं बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को सेयर स्वाप रेसियो स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । दुबै बैंकहरुको सेयर कारोबार गत असार २ गतेदेखि बन्द रहेको छ ।
यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन । सोमवार मात्रै यी बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको थियो ।
बैंक अफ काठमाण्डूले शेयर कारोबार रोक्काको आधारमा असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बताएको छ । ग्लोबल आइएमई बैंकले भने साधारण सभा प्रयोजनका लागि मंसिर ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा ग्लोबल आइएमई बैंकको मंसिर ६ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



About Us
प्रतिक्रिया