बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८४’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो।
बचतपत्रमा जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । जसको निष्काशन असार ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८४ असार ८ गते हुने छ ।
प्रत्येक छ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ।
उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् ।
आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको ब्याज लिन सकिनेछ।
सो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ ।



About Us
प्रतिक्रिया