बढ्यो विदेशी पर्यटकको ‘फ्लो’, बढ्दै विदेशी मुद्राको सञ्चिती

बढ्यो विदेशी पर्यटकको ‘फ्लो’, बढ्दै विदेशी मुद्राको सञ्चिती

एक पर्यटकले प्रतिदिन गर्छन् सरदर ४५ डलर खर्च


काठमाडौं – कोरोना महामारीका कारण सुकेको पर्यटन व्यवसाय फेरी जाग्न थालेको छ । २०१९ देखि फैलिएको कोरोना महामारीका कारणले विश्वका अन्य मुलुकमा जस्तै नेपालको पर्यटन व्यवसाय समेत सुकेको थियो । तर कोरोना महामारी घट्दै जाँदा नेपालमा विदेशी पर्यटकको ‘फ्लो’ बढ्न थालेको हो ।

यससँगै नेपाल राष्ट्र बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिती बढ्न थालेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार यतिबेला २० खर्ब रुपैयाँ हाराहारी विदेशी मुद्राको भण्डार छ । यसले नेपालको १३ महिनाको सम्पूर्ण आयात (वस्तु तथा सेवा) धान्न सक्छ ।

यस्तै, १५ महिनासम्मको वस्तु आयात धान्न सक्छ । नेपालको विदेशी मुद्रा आर्जनका मूख्य स्रोतमध्ये पर्यटन समेत प्रमुख मानिन्छ । रेमिट्यान्सपछि सबैभन्दा बढी विदेशी मुद्रा आर्जनको माध्यम पर्यटन हो । रेमिट्यान्सका साथै विदेशी पर्यटक बढ्न थालेसँगै विदेशी मुद्राको सञ्चिती बढ्न थालेको हो ।

यो वर्षको सुरुदेखि नै विदेशी पर्यटकको आवागमन बढेको बढ्यै छ । सन् २०२४ को अगस्ट महिनामा नै गत वर्ष सन् २०२३ को अगस्टको तुलनामा ८.३ प्रतिशतले पर्यटक बढेका छन् । यो वर्ष ७२ हजार ७१९ जना विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्ष सन् २०२३ को अगस्टमा ६७ हजार १५३ जना नेपाल भित्रिएका थिए ।

सन् २०२२ को अगस्टमा ४१ हजार विदेशी नेपाल आएका थिए । यस्तै, २०२१ को अगस्टमा ६ हजार विदेशी आएका थिए । यसैगरी, २०२० को अगस्टमा जम्मा २६७ विदेशी नेपाल घुम्न आएका थिए । सो क्रममा कोभिड–१९ महामारीका कारण विश्वव्यापी रुपमा पर्यटकको आवागमन घटेको थियो ।

कुन महिना कति भित्रिए ?
यो वर्षको सुरु देखि नै विदेशी पर्यटकको ‘फ्लो’ बढ्दो अवस्थामा छ । जनवरीमा ७९ हजार १०० विदेशी नेपाल आएका थिए । यस्तै, फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी नेपाल आएका थिए । मार्चमा १ लाख २८ हजार १६७ जना र अप्रिल १ लाख ११ हजार विदेशी नेपाल आएका थिए ।

यसैगरी, मे मा ९० हजार २११, जुनमा ७६ हजार ७३६ जना र जुलाईमा ६४ हजार ५९९ जना विदेशी नेपाल आएका थिए । यस्तै, अगस्टमा ७२ हजार ७१९ जना विदेशी नेपाल आए । यो वर्ष सन् २०२४ को ८ महिनामा ७ लाख २० हजारभन्दा बढी विदेशी नेपालमा घुम्नका लागि आएका छन् ।

बढ्दै विदेशी मुद्राको सञ्चिती

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाअनुसार एक जना विदेशी पर्यटकले नेपालमा प्रतिदिन सरदर ४५ अमेरिकी डलर खर्च गर्छन् । यो २०८० मंसिरसम्मको तथ्यांक हो । यस तथ्यांकअनुसार सन् २०२४ अगस्टसम्ममा नेपाल आएका ७ लाख २० हजार पर्यटकको प्रतिदिन सरदर खर्च कूल ३ करोड २३ लाख अमेरिकी डलर हुन्छ । यस्तै, नेपाल आउने विदेशी पर्यटकको सरदर बसाई १३ दिन छ ।

यसआधारमा नेपाल आएका सबै पर्यटकले प्रतिदिन ४५ डलरका दरले सरदर १३ दिन बस्दा कूल ४२ करोड डलरभन्दा बढी खर्च गर्छन् । जुन मुद्रा राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंक तथा एक्सचेञ्ज सेन्टरमार्फत साटिन्छ । साटिएकाे साे पैसा अन्त्यमा राष्ट्र बैंकको भण्डारणमा नै जाने हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब विदेशी मुद्रा सञ्चिती छ ।

यो २०८० असार मसान्तको तुलनामा ३२ प्रतिशतले बढी हो । सो अवधिमा १५ खर्ब ३९ अर्ब रुपैयाँ विदेशी मुद्राको सञ्चिती थियो ।