काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी) ले अवैध तरिकाबाट हुने काराेबार नियन्त्रणमा निगरानी बढाएकाे छ। सीआईबीले विदेशमा कमाएको पैसा बैंकिङ्ग च्यानलबाट नपठाई अवैध तरिकाले सर्वसाधारणको बैंक खातामा पठाउने कार्यलाई नियन्त्रण गर्न निगरानी बढाएको हो।
अनुसन्धानको क्रममा विदेशी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई) , कतार, कुबेत, अस्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जन गरी पठाएको विप्रेषण (रेमिट्यान्स) बापतको रकम अवैध प्रक्रियाबाट नेपाल पठाउने गरेको पाइएको सीआईबीले जनाएको छ। सीआईबीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘त्यसरी नपठाई विदेशमा रहेका विभिन्न हुन्डी तथा इलिगल मनी सर्भिस बिजनेसमा संलग्न व्यक्ति तथा संस्थामार्फत पठाउने र त्यस्ता कारोबारीले त्यस्तो रकम विभिन्न देशमा क्रिप्टोलगायत विभिन्न माध्यममार्फत पठाई सुनलगायत विभिन्न अवैध सम्पत्तिमा लगानी गर्ने गरेको पाइएको छ, त्यस्ता समूहले नेपालमा रहेका एजेन्टमार्फत नेपालमा त्यस्ता अवैध वस्तुहरु बिक्रप्बाट प्राप्त रकम विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गरेको देखिएको छ।’
विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानब तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतंककारी क्रियाकलापमा लगानी र अभौतिक (क्रिप्टो) मुद्रामा लगानी गर्ने साथै सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको सीआईबीले उल्लेख गरेकाे छ । ‘यसबाट नेपालमा विदेशबाट प्राप्त हुने विदेशी मुद्राको संचितिमा हास, पुँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थिरता एवम् उतारचढाव, लगानीको सुरक्षासम्बन्धी जोखिम बढ्दै जान्छ’, सीआईबीले भनेको छ, ‘त्यसैले नेपाल बाहिर तथा नेपालमा रहेका सबै नेपाली नागरिकको उल्लिखित अवैध कारोबार रोक्ने तथा गर्ने गराउनेलाई निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा जानकारी गराउनु सर्वसाधरण नागरिकको कर्तव्य पनि हो।’ जारी विज्ञप्तिमा उल्लेख छ ।




About Us
प्रतिक्रिया