पाँच ब्रोकरले सुरु गरे मार्जिन कर्जा, अधिकांश ब्रोकरहरू मौद्रिक नीतिको पर्खाइमा


काठमाडौं – नेपालको शेयर बजारमा ब्रोकरमार्फत नै ऋण लिएर शेयर किन्न पाइने व्यवस्था कार्यान्वयनमा गएको छ । नेपाल स्टक ब्रोकर एसोसिएसनका महासचिव भक्तिराम घिमिरेका अनुसार हाल बजारमा मार्जिन ट्रेडिङ सुरु गर्नेमा पाँच ब्रोकरहरू छन् ।

नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) ले हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी मार्जिन लोन दिइसकेको छ। इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५), एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७), सन्नी सेक्युरिटिज (ब्रोकर नं. ४२) र अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) ले मार्जिन कर्जा दिन थालेको उनले जानकारी दिए । करिब २५–३० प्रतिशत ब्रोकरहरू काम सुरु गर्न सक्ने अवस्थामा भए पनि चालू आर्थिक वर्ष (असार मसान्त) सम्म यही ५ वटा ब्रोकर मै यो सेवा सीमित हुने देखिएको छ।

यद्यपि पर्याप्त फन्ड नहुँदा मार्जिन कर्जा सुरु गर्न नसकिएको घिमिरेको भनाइ छ । उनले भने, ‘ब्रोकरहरूसँग आफ्नै पुँजी (नेटवर्थ) १ अर्ब रुपैयाँ हाराहारी भए पनि बजारको दैनिक कारोबार र राफसाफ (सेटलमेन्ट) मिलाउँदैमा उनीहरूको पैसा सकिन्छ । बजारमा शेयर किन्ने धेरैजसो ग्राहकले समयमै पैसा नहाल्ने (उधारो बढी हुने) भएकाले ब्रोकरहरूले आजको भोलि नै आफैँ पैसा हालेर बजार सेटलमेन्ट गर्नुपर्ने बाध्यता छ। यसले गर्दा मार्जिन ट्रेडिङका लागि पैसा पुग्दैन।’

ब्रोकरहरूले बैंकबाट ठुलो परिमाणमा (बल्क) मा ऋण लिएर ग्राहकलाई मार्जिन लोन दिने योजना बनाएका छन् । तर, अहिले बैंकहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । राष्ट्र बैंकको आगामी मौद्रिक नीतिले मार्जिन ट्रेडिङका लागि ‘रिसिभेबल फाइनान्सिङ’ (उठ्न बाँकी रकमको धितोमा ऋण दिने) सम्बन्धी व्यवस्था स्पष्ट गर्ने आशमा बैंकहरू छन्। बैंकहरूले अहिले असार मसान्त लागेका कारण नयाँ कर्जा दिन आनाकानी गरिरहेकाले पनि ब्रोकरमार्फत मार्जिन कर्जा अपेक्षित हुन नसकेको उनको भनाइ छ ।

उनकाअनुसार असार मसान्त सकिएर नयाँ आर्थिक वर्ष (साउन) लागेपछि र राष्ट्र बैंकको मौद्रिक नीति आएपछि अन्य ब्रोकरहरूले पनि धमाधम मार्जिन ट्रेडिङ सुरु गर्ने तयारी गरेका छन् । साउनदेखि बैंकहरूबाट पनि कोष उपलब्ध हुने र थप ब्रोकरहरू मैदानमा आउने भएकाले मार्जिन ट्रेडिङको कारोबारले राम्रो गति लिने विश्वास गरिएको छ ।