एचआईडिसीएलको अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयर फागुन १ देखि लिलामीमा

एचआईडिसीएलको अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयर फागुन १ देखि लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयर फागुन १ गतेदेखि विक्री गर्ने भएको छ । कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । 

यो शेयर खरिदका लागि फागुन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ्ग, नेपालगंज, सुर्खेत, दाङ र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ ।

कम्पनीले यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यो शेयर खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यस अघि कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म यो शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

 कम्पनीले संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो । त्यस अवधिमा विक्री खुला गरिएको संस्थापक तर्फको उक्त शेयर भने विक्री हुन सकेन । 

कम्पनीले सर्वसाधारण तर्फ न्यूनतम १०० र संस्थापक तर्फ एक करोड कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको थियो । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थापक तर्फको लिलामी शेयरमा न्यूनतम एक करोड कित्ताको क्याप लगाएको कारण वितरण हुन नसकेको उक्त शेयर विक्रीका लागि नियमावली संशोधन गरी विक्री गर्न लागेको हो । 

कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभामार्फत नियमावलीमा रहेको संस्थापक शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम एक करोड कित्ताको सीमालाई कम्पनीले संशोधन गरेको हो । कम्पनीको नियमावलीको दफा १० मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै कम्पनीको संस्थापक शेयरधनी हुनका लागि न्यूनतम एक करोड कित्ता शेयर हुनुपर्ने तर, कम्पनी संस्थापना भएपश्चात संस्थापक समूहको शेयर खरिद गर्ने शेयरधनीहरुको हकमा सो सीमा लागू नहुने व्यवस्था गरेको हो ।