डिप्रोक्स लघुवित्तको नाफामा सामान्य वृद्धि

डिप्रोक्स लघुवित्तको नाफामा सामान्य वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी समान्य बढेसँगै गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा यस वर्ष धनात्मक रहेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९२ करोड ५१ लाख रुपैयाँ ऋणात्मकबाट ४७ करोड २९ लाख रुपैयाँ धनात्मक भएको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ २४ पैसा घटेर ४८ रुपैयाँ २१ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानी घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३८ प्रतिशत बढेको छ भने जगेडा कोष १३.२५ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी १०.४३ प्रतिशत र निक्षेप २७.८२ प्रतिशत बढेको छ भने कर्जा २३.४७ प्रतिशत बढेको छ ।

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २० पैसा रहेको छ ।