विपद्सँग जुध्न नेपालले आफ्नै रोबोट बनाउने, रोबोटिक्स प्रविधि विकास कोष स्थापना


काठमाडौं- नेपालमा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रविधिमैत्री बनाउन रोबोटिक्स एशोसिएशन अफ नेपाल (र्‍यान) ले ‘रोबोटिक्स टेक्नोलोजी डेभलपमेन्ट फण्ड’ (आरटीडीएफ) स्थापना गरेको छ। यस कोषले देशका अप्ठ्यारा भूभाग र नदीहरू सुहाउँदो प्रविधिको अनुसन्धान र विकास गर्ने लक्ष्य राखेको छ।

नेपाल बाढी, पहिरो, भूकम्प, हिमपहिरो लगायतका प्राकृतिक तथा जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको भन्दै तत्कालीन उद्धार र राहतसँगै आफ्नै आवश्यकता र भूगोलअनुकूल प्रविधि विकास गर्नुपर्ने आवश्यकता रहेको रोबोटिक्स एसोसिएसन अफ नेपालले जनाएको छ। नेपालका हिमाल, पहाड, नदी, ग्रामीण बस्ती तथा कठिन भूभागलाई ध्यानमा राखेर स्वदेशमै रोबोटिक्स तथा अत्याधुनिक प्रविधिको अनुसन्धान, विकास र प्रयोगलाई तीव्रता दिन कोष स्थापना गरिएको हो।

कोषले विपद् आउनुअघि गरिने पूर्वतयारी, विपद्का समयमा गरिने खोज तथा उद्धार र विपद्पछि क्षतिको मूल्याङ्कन तथा पुनर्मूल्याङ्कन गर्न सक्ने प्रविधिको अनुसन्धान र विकासमा लगानी गर्नेछ। विपद्अघि तथा विपद्पछि मूल्याङ्कन गर्ने रोबोट, खोज तथा उद्धारका लागि रोबोट र स्वचालित प्रणाली, मानवरहित हवाई उपकरण तथा स्वचालित प्रविधिबाट विपद्को नक्साङ्कन र मूल्याङ्कन, सामान बोक्ने तथा कठिन भूभागमा सञ्चालन गर्न सकिने रोबोटको विकासलाई प्राथमिकता दिइनेछ।

त्यस्तै, हिमाली तथा ग्रामीण समुदायका लागि उपयोगी रोबोटिक्स प्रविधि, पर्यटन प्रवर्द्धन तथा अन्वेषण प्रविधि, जलवायु परिवर्तनका प्रभाव सामना गर्न सक्ने रोबोट तथा स्वचालित प्रणाली, पूर्वाधार तथा वातावरणीय अनुगमन प्रविधि र कृत्रिम बुद्धिमत्ता, संवेदक तथा स्वचालित प्रविधिमा अनुसन्धान गरिनेछ। नेपालको विशिष्ट समस्या समाधान गर्न सक्ने अन्य स्थानीय प्रविधिको विकासलाई पनि कोषले सहयोग गर्नेछ।

रोबोटिक्स प्रविधि विकास कोषको केन्द्रमा नेपालका रोबोटिक्स क्लब तथा युवा आविष्कारक रहनेछन्। नेपालले प्रविधि आयात गर्ने मात्र नभई आफ्ना समस्या समाधान गर्न सक्ने प्रविधि आफैं अनुसन्धान, डिजाइन, नमुना निर्माण, परीक्षण र प्रयोग गर्ने जनशक्ति विकास गर्नुपर्ने अवधारणासहित कोष स्थापना गरिएको हो।

रोबोटिक्स क्लब, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता, इन्जिनियर, प्रविधि निर्माण केन्द्र, नयाँ प्रविधिमा आधारित व्यवसाय तथा प्रविधि साझेदारलाई जोडेर नेपाली युवालाई भविष्यका आविष्कारक तथा प्रविधि निर्माता बनाउने लक्ष्य राखिएको छ। यस पहलमार्फत नेपाललाई प्रविधिको उपभोक्ताबाट स्थानीय आवश्यकता अनुरूप रोबोटिक्स समाधान विकास गर्ने राष्ट्रका रूपमा अघि बढाउने र भविष्यमा नेपाली प्रविधिलाई विश्व बजारमा पुर्‍याउने दीर्घकालीन लक्ष्य राखिएको छ।

रोबोटिक्स प्रविधि विकास कोषले दिगो प्रविधि विकासको आधार निर्माण गर्न तीन चरणमा कोष संकलन गर्ने लक्ष्य राखेको छ। पहिलो चरणमा एक लाख अमेरिकी डलर अर्थात् करिब एक करोड ५० लाख रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ। उक्त रकम अनुसन्धान, युवा नवप्रवर्तन, रोबोटिक्स क्लबको क्षमता विकास तथा प्राथमिकतामा रहेका विपद् प्रविधिका नमुना निर्माणमा प्रयोग गरिनेछ।

दोस्रो चरणमा दस लाख अमेरिकी डलर अर्थात् करिब १५ करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ। यस चरणमा अनुसन्धान तथा विकास विस्तार, उन्नत नमुना निर्माण तथा परीक्षण कार्यक्रम सञ्चालन र प्रयोगयोग्य रोबोटिक्स प्रविधिको विकास तथा परिचालन गरिनेछ। तेस्रो चरणमा एक करोड अमेरिकी डलर अर्थात् करिब एक अर्ब ५० करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ। यसबाट दीर्घकालीन अनुसन्धान, विकास, उत्पादन, प्रयोग तथा अन्तर्राष्ट्रिय सहकार्य गर्न सक्ने राष्ट्रिय स्तरको रोबोटिक्स प्रविधि प्रणाली निर्माण गर्ने योजना रहेको छ।

रोबोटिक्स एसोसिएसन अफ नेपालले विश्वभर रहेका व्यक्ति, कम्पनी, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने संस्था, प्रतिष्ठान, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, अनुसन्धान संस्था तथा प्रविधि कम्पनीलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ।व्यक्तिगत सहयोग, संस्थागत सामाजिक उत्तरदायित्व तथा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदान साझेदारीमार्फत योगदान गर्न सकिने जनाइएको छ। विदेशी सहयोग तथा अनुदान भने नेपालको प्रचलित कानुन तथा समाज कल्याण परिषद्का लागू प्रक्रिया र आवश्यकताअनुसार व्यवस्थापन गरिने संस्थाले जनाएको छ।

कोषअन्तर्गत प्राप्त रकमको छुट्टै लेखा व्यवस्थापन गरिने र कोषमा रकम प्राप्ति तथा त्यसको उपयोगसम्बन्धी नियमित विवरण आधिकारिक माध्यमबाट सार्वजनिक गरिने रोबोटिक्स एसोसिएसन अफ नेपालले जनाएको छ।

संस्थाले सन् २०४५ सम्म नेपालमा रोबोटिक्स उद्योग निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित यो पहल अघि बढाएको जनाएको छ। कोषमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले donate.ran.org.np मार्फत योगदान गर्न सक्ने बताइएको छ। र्‍यानले अभियानका लागि [email protected][email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ।