स्रोत नखुलेको १३ लाख ९२ हजार रुपैयाँसहित एक जना पक्राउ


काठमाडौं – सिरहामा स्रोत नखुलेको १३ लाख ९२ हजार ४ सय रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा सिरहा नगरपालिका–७ स्थित हेमनारायण चोकबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा एक जनालाई नगदसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ निवासी ३५ वर्षीय शम्भु भन्ने जितेन्द्र महासेठ रहेका छन्। प्रहरी प्रवक्ता रमेशबहादुर पालका अनुसार कानुनबमोजिम चेकजाँच गर्दा उनले साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।

महासेठको साथबाट १ हजार दरका १ हजार ९२ थान, ५ सय दरका ५ सय ९९ थान तथा १ सय र ५० दरका ६–६ थान नोट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका महासेठलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।