काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सार्वजनिक गरिएको विवरणमा रावल तथा परिवारका सदस्यका नाममा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी र शेयर लगानी रहेको देखिएको छ।
विवरणअनुसार रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी–२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटरमा बनेको घर छ, जुन २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको हो।
रावलकी आमाको नाममा कैलालीको टीकापुरमा २ बिघा १ कठ्ठा तथा अछामको बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको छ। परिवारका नाममा धनगढीमा ३३८.६३ वर्गमिटरका दुई कित्ता तथा रावलको नाममा कैलालीमा १ कठ्ठा जग्गा पनि रहेको छ। रावलको बैंक खातामा ११ लाख ४९ हजार २१४ रुपैयाँ र १४ हजार २३ अमेरिकी डलर रहेको छ भने श्रीमतीको नाममा ३ लाख ८४ हजार ९२७ रुपैयाँ मौज्दात छ।
परिवारसँग २५ तोला सुन, २ किलो चाँदी र १ लाख रुपैयाँ मूल्यको हिराको औँठी रहेको छ। शेयरतर्फ रावलको नाममा ७७० कित्ता र श्रीमतीको नाममा विभिन्न कम्पनीका ३१ हजारभन्दा बढी कित्ता सेयर छन्। छोराछोरीका नाममा समेत शेयर लगानी रहेको विवरणमा उल्लेख छ।






About Us
प्रतिक्रिया