‘रास्वपाको जितपछि स्थिरता आएको छ, शेयर बजार उकालो लाग्छ’


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावमा दुई तिहाइ नजिक सिट जितेयता शेयर बजार उच्च अंकले बढ्दै आएको छ। रास्वपाले राष्ट्रिय राजनीतिमा एकछत्र राज गर्ने गरी निर्वाचनमा दुई तिहाइ हाराहारी बहुमत ल्याउँदादेखि बढ्न थालेको शेयर बजार २९०० अंकभन्दा माथि पुगेको छ। यससँगै नेपालको शेयर बजार अब निरन्तर रूपमा बढ्ने र यस अगाडिको ३२०० अङ्कको बिन्दु पार गर्ने वा अझ त्यो भन्दा माथि जाने हो कि भन्ने आँकलनहरु सुरु भएको छ।

विगत लामो समयदेखि थुप्रिएको १० खर्ब भन्दा बढी तरलता लगानी योग्य रकम शेयर बजारमा डाइभर्ट हुन नसक्दा र राजनीतिक अस्थिरताका कारण बजार बढ्न सकेको थिएन। लगानीकर्ताहरूमा अन्यौलता हुँदा र हौसला आत्मविश्वास आउन नसक्दा बजार रुमलिएको स्थिति थियो। तर, फागुन २१ गते सम्पन्न चुनावमा रास्वपाले उत्कृष्ट उल्लेख्य जित हात पारेसँगै लगानीकर्ताहरू उत्साहित बनेका छन् जसको रिजल्ट पहिलो दिनदेखि नै देखिन थालेको छ। यही विषयमा केन्द्रित रहेर शेयर लगानीकर्ता छोटेलाल रौनियारसँग इन्भेस्टमेन्ट टकमा गरिएको कुराकानीको सम्पादित अंश:-

यतिबेला शेयर बजार बढेको बढ्यै छ। अहिले देखिइरहेको यो वृद्धि रास्वपाको चुनावी नतिजाको प्रतिक्रिया मात्र हो कि यसमा ठोस आर्थिक आधार पनि छ ?

यसलाई हामीले ‘मास साइकोलोजी’को उच्चतम रूपमा बुझ्नुपर्छ। विगत एक वर्षदेखि सबै वित्तीय परिसूचकहरू सकारात्मक थिए। बैंकमा १० खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको थियो। ब्याजदर एकल अंकमा झरिसकेको थियो र मुद्रास्फीति पनि नियन्त्रणमै थियो। तर, लगानीकर्तामा एउटा ठुलो ‘डर’ र ‘अन्योल’ थियो। त्यो अन्योल राजनीति कता जान्छ भन्नेमा केन्द्रित थियो। जब रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा पनि उल्लेख्य मत ल्याएर ‘एब्सोलुट मेजोरिटी’ प्राप्त गर्‍यो। तब लगानीकर्ताले ३५ वर्षदेखिको अस्थिर राजनीतिको अन्त्य देख्यो। ३५ वर्षमा ३० जना प्रधानमन्त्री फेरिने देशमा अब ५ वर्ष एउटै नीति चल्छ भन्ने विश्वासले यो ‘ट्रिगर’ को काम गरेको हो। यो वृद्धि केवल ‘इमोसनल’ मात्र होइन, बरु थुप्रिएको पुँजीले निकास पाएको अवस्था हो।

बजारमा अहिले दुईवटा नामको निकै चर्चा छ। प्रधानमन्त्रीका रूपमा बालेन शाह र अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्ले। के व्यक्ति परिवर्तन हुँदैमा नेपालको अर्थतन्त्रको संरचनात्मक समस्या समाधान होला र ?

पात्रले नीति निर्माणमा धेरै ठुलो भूमिका खेल्छ। शेयर बजारले सधैँ ‘भिजन’ र ‘कम्पिटेन्स’ खोज्छ। स्वर्णिम वाग्ले अन्तर्राष्ट्रियस्तरको अर्थशास्त्री हुनुहुन्छ। उहाँले पुँजी बजारलाई पारदर्शी बनाउने, प्रविधिको प्रयोग बढाउने र ‘इन्साइडर ट्रेडिङ’ रोक्ने कुरा गर्दा लगानीकर्ताले आफू सुरक्षित भएको महसुस गर्छन्। पहिलेका अर्थमन्त्रीहरूले शेयर बजारलाई ‘जुवा घर’ को रूपमा हेर्ने गर्थे, तर अबको नेतृत्वले यसलाई ‘पुँजी निर्माणको मेरुदण्ड’ मान्ने अपेक्षा गरिएको छ। बालेन शाहको कार्यशैली र स्वर्णिम वाग्लेको विज्ञताको ‘कम्बिनेशन’ ले नेपाललाई १०० बिलियन डलरको अर्थतन्त्र बनाउने जुन सपना देखाएको छ, त्यसले लगानीकर्तालाई उत्साहित बनाएको हो।

रास्वपाले आफ्नो घोषणापत्रमा एनआरएनलाई बजारमा ल्याउने र ‘इन्साइडर ट्रेडिङ’ शून्यमा झार्ने बाचा गरेको छ। यी कुराहरू विगतमा पनि चर्चामै थिए, अब कार्यान्वयन कसरी होला?

विगतका सरकारले एनआरएनका लागि ‘झ्याल’ मात्र खोलेका थिए, तर रास्वपाले ‘ढोका’ नै खोल्ने विश्वास छ। एनआरएनले डलरमा लगानी ल्याउँदा उसलाई नाफा पनि डलरमै लैजान पाउने सुविधा दिनुपर्छ। यसो भयो भने नेपालमा विदेशी मुद्राको भण्डार अझै बलियो हुन्छ। अर्को कुरा, ‘इन्साइडर ट्रेडिङ’ रोक्न सेबाेनमा बलियो आइटी सेल र विज्ञहरूको टिम चाहिन्छ। अमेरिकामा यस्तो अपराध गर्नेलाई २० वर्षसम्मको जेल सजाय हुन्छ। नेपालमा पनि कसैले भित्री सूचनाका आधारमा चलखेल गर्छ भने उसलाई कडा कारबाही गर्ने प्रणाली बसालियो भने मात्र साना लगानीकर्ताको सुरक्षा हुन्छ।

यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियामा ठुलो विवाद भयो। कतिपयले नेपालमा नचाहिने भन्छन् भने कोही नयाँ स्टक एक्सचेन्ज चाहिन्छ भन्छन्। नयाँ सरकारले यसबारे कस्तो नीति लिनुपर्छ ?

म प्रतिस्पर्धामा विश्वास गर्छु। नेप्से ३० वर्षदेखि सरकारी एकाधिकारमा छ, त्यसैले यसको प्रविधि र सेवा कछुवा गतिमा छ। तपाईँ टेलिकम क्षेत्रलाई हेर्नुस्। जब एनसेल आयो, एनटिसी सुध्रिन बाध्य भयो। शेयर बजारमा पनि निजी क्षेत्रको आधुनिक एक्सचेन्ज आउँदा त्यसले नयाँ ‘इन्स्ट्रुमेन्ट’, ‘इन्ट्रा-डे ट्रेडिङ’ र अन्तर्राष्ट्रिय प्रविधि लिएर आउँछ। यसले नेप्सेलाई पनि आधुनिकीकरण हुन दबाब दिन्छ। नयाँ एक्सचेन्ज कसलाई दिने भन्ने कुरा पारदर्शी हुनुपर्छ, तर प्रतिस्पर्धा नै रोक्नु भनेको बजारको विकास रोक्नु हो।

धेरै लगानीकर्ताहरू ३२०० को उच्च बिन्दुमा शेयर किनेर बसेका छन्। अहिले बजार २८००-२९०० को आसपास छ। उनीहरूको लगानी कहिले रिकभर होला?

प्राविधिक रूपमा हेर्ने हो भने, ३२०० मा किनेकाहरूको ४ वर्षको ब्याज र ‘अपरच्युनिटी कस्ट’ जोड्दा अहिले इन्डेक्स ४२०० पुग्नुपर्छ। तब मात्र उनीहरू साँचो अर्थमा नाफामा हुन्छन्। बजार एकै दिन ६ प्रतिशत बढ्दैमा सबै समस्या हल हुँदैन। लगानीकर्ताले ‘फोमो’ (फोमो) छुट्ला कि भन्ने डरमा परेर हतारमा जथाभाबी शेयर किन्नु हुँदैन। अहिले पनि धेरै राम्रा बैंक र ब्लु-चिप कम्पनीहरू सस्तो मूल्यमा उपलब्ध छन्। ‘भ्यालु इन्भेस्टिङ’ गर्ने र राम्रो बोनस दिन सक्ने कम्पनी रोज्ने हो भने आगामी २-३ वर्षमा सबैको लगानी सुरक्षित मात्र होइन, राम्रो नाफामा पनि जान्छ।

अन्त्यमा, अब बन्ने सम्भावित अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तपाईँको मुख्य सुझाव के छ ?

मेरो सुझाव स्पष्ट छ। पुँजी बजारको सुधारका लागि अर्थमन्त्रीले अगाडि हेर्नुपर्छ र पछाडि हेर्न हुँदैन। पहिलो, शेयर बजारका नीतिहरूलाई स्थिर बनाउनुपर्छ। दोस्रो, शेयर धितो कर्जामा सीमा जस्ता अनावश्यक अङ्कुशहरू पूर्ण रूपमा हटाउनुपर्छ। तेस्रो, प्रविधिमा लगानी बढाउन जोड दिनुपर्छ, ताकि एउटा साधारण नागरिकले आफ्नो मोबाइलबाटै संसारको जुनसुकै कुनाबाट निर्धक्क लगानी गर्न सकोस्। यदि रास्वपाले आफ्नो घोषणापत्रको ५० प्रतिशत मात्र कार्यान्वयन गर्न सक्यो भने, नेपालको शेयर बजारले छिमेकी देशहरूको तुलनामा धेरै ठुलो फड्को मार्नेछ।