काठमाडौं – जेनजी आन्दोलनपछि देशभित्र भविष्यप्रति अन्योल बढ्दै जाँदा विदेशिने युवाको संख्या उल्लेख्य रूपमा बढेको छ। वैदेशिक रोजगार विभाग, नेपाल राष्ट्र बैंक र शिक्षा मन्त्रालयका तथ्यांकले अध्ययन तथा रोजगारी दुवै प्रयोजनका लागि विदेश जाने नेपालीको क्रम बढेको हो। यससँगै, विदेश अध्ययनको तयारीमारहेका युवाबाट बैंक तथा वित्तीय संस्थामा शैक्षिक कर्जाको माग तीव्र रूपमा बढेको छ।
लाखौँ युवा अध्ययनका नाममा विदेशिएका छन् भने स्वदेशमै रोजगारीको अभाव र न्यून पारिश्रमिकका कारण पनि धेरै युवा बाहिरिन थालेका छन्। अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीले आवश्यक खर्च जुटाउन बैंकहरूमा शैक्षिक कर्जाका लागि आवेदन बढाएका छन्। एक वाणिज्य बैंकका व्यवस्थापकका अनुसार जेनजी आन्दोलनपछि बढ्दो अन्योलताले विदेश अध्ययनका लागि जाने बढेका छन्। उनले भने, ‘अहिले बैंकहरू विद्यार्थीलाई शैक्षिक कर्जा दिन निकै व्यस्त छन्।’
बैंकहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त भर्ना स्वीकृति र शिक्षा मन्त्रालयबाट जारी एनओसीका आधारमा शैक्षिक कर्जा उपलब्ध गराउँदै आएका छन्। हाल बैंकहरूले अधिकतम १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा प्रदान गर्ने गरेका छन्। विश्वविद्यालयको स्वीकृति र एनओसी प्राप्त भएपछि बैंकहरूले १५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा लगानी गर्दै आएका छन्, यसका लागि धितो अनिवार्य गरिएको छ। विदेश अध्ययनमा जाने विद्यार्थी बढेसँगै बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा पनि केही सुधार आउने अपेक्षा गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंकिङ्ग प्रणालीबाट ५६ खर्ब ६३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी भइसकेको छ।
शिक्षामा मात्रै तीन महिनामा ४२ अर्ब बाहिरियो
नेपालबाट प्रत्येक वर्ष लाखौँ विद्यार्थी वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन्। शिक्षामन्त्रालयका अनुसार नेपाली विद्यार्थी ५५ भन्दा बढी देशमा अध्ययनका लागि जाने गरेका छन्। पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थी जापान जाने गरेका छन् भने त्यसपछि बेलायत, संयुक्त राज्य अमेरिका र अस्ट्रेलिया प्रमुख गन्तव्य बनेका छन्।
मन्त्रालयका अनुसार हालसम्म ५ लाख २८ हजारभन्दा बढीले एनओसी लिएका छन्। विद्यार्थी विदेशिँदै जाँदा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै शिक्षा प्रयोजनका लागि ४२ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको छ। साउनमा १४ अर्ब ३१ करोड, भदौमा ३२ अर्ब ७५ करोड र असोजसम्म पुग्दा यो रकम झनै बढेको देखिन्छ। यी तथ्यांकले जेनजी आन्दोलनपछि विदेशिने क्रम तीव्र भएको संकेत गर्छ।
यस्तै, राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ। जबकी अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो । अघिल्लो आवको तुलनाका चालु आवको चार महिनामा करिब १० अर्ब रुपैयाँ बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो ।
रोजगारीका लागि पनि बढ्दो पलायन
स्वदेशमा उच्च शिक्षा हासिल गरे पनि पर्याप्त रोजगारी नपाउने वा पाए पनि न्यून पारिश्रमिकका कारण नेपाली युवाको विदेश पलायन बढिरहेको छ। करिब ३ करोड जनसंख्या भएको नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाले करिब ६५ प्रतिशत हिस्सा ओगटेका छन्। तर, यही समूह क्रमशः विदेशिँदै जाँदा यसको दीर्घकालीन असर आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पर्ने विज्ञहरूको भनाइ छ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिनेको संख्या १ लाख २३ हजार ४५९ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ। भदौसम्म नयाँ श्रम स्वीकृति लिने ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिने ४५ हजार ८८४ थिए। साउनमा भने नयाँ श्रम स्वीकृति लिने ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिने २३ हजार ६४४ मात्रै थिए। यही तीन माहिनाको तथ्यांकलाई हेर्दा पनि नेपालीहरु बाहिरिने क्रम बढिरहेको देखिन्छ । यता, गत भदौमा भएको जेनजी आन्दोलनले थप आन्योलता सिर्जना गर्दा पनि विदेशिनेहरु बढेको यस क्षेत्रका विज्ञहरु बताउँछन्।






About Us
प्रतिक्रिया