उतारचढावबीच आज नेप्से ५.८९ अंकले घट्यो, साढे १ अर्ब माथिको कारोबार

उतारचढावबीच आज नेप्से ५.८९ अंकले घट्यो, साढे १ अर्ब माथिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको दोस्रो दिन सामान्य अंकले घटेको छ । आज सोमवार नेप्से ५.८९ अंकले घटेर २ हजार ४ दशमलव ४५ बिन्दुमा पुगेको छ । आइतवार नेप्से १९.४२ अंकले घटेर २ हजार १० दशमलव ३५ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्से सामान्य अंकले घटेसँगै कारोबार रकम भने उल्लेख्यरुपमा घटेर डेढ अर्बमा सिमित भएको छ । आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने १२९ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज माइखोला हाइड्रोपावरको शेयर मुल्य १० प्रतिशतले बढेर २८९.३० रुपैयाँ पुगेको छ भने अन्य ५ कम्पनीहरुको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको छ ।

आज शुभम् पावर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको शेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सन नेपाल लाइफको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ७ करोड ६८ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।