काठमाडौं – सुनको मूल्य बढेर आकाश छुँदासमेत बजारबाट व्यापारीले सुन किन्नेहरूको संख्या उल्लेख्यरुपमा बढ्दै गएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्यधिक बढेर प्रतितोला साढे २ लाखभन्दा माथि पुग्दा समेत सुन खरिदकर्ता घट्नुको साटो बढिरहेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सातादेखि नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार रुपैयाँभन्दा माथि छ । र, सुनको मूल्यमा कीर्तिमानी कायम हुँदै प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुग्यो । तर, बजारमा सुनको चुलिँदो मूल्यवृद्धिका बावजूद सुन किन्नेहरूको संख्या झनै उकालो लागेको तथ्यांकले देखाउँछ ।
नेपाल बैंकर्स संघकाअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमा दुई पटक सुन किन्न सिफारिस दिइएको छ। जसमध्ये भदौ २७ गते २०१ किलोग्राम सुन आयातका लागि बैंकहरूलाई सिफारिस दिइएको छ । यसपछि असोज ३१ गते ४०० किलोग्राम सुन किन्न सिफारिस अनुमति दिइएको छ ।
तथ्यांकले भदौ र असोजमा गरी कूल ६०१ किलोग्राम सुन नेपाल भित्रिएको देखिन्छ । तर, बैंकर्स संघको तथ्यांकमा यसमध्ये जम्मा ७८ किलोग्राम सुन मात्रै ‘स्टक’ छ । तथ्यांकअनुसार साउनदेखि भदौसम्म २०१ किलोग्राम सुन आयातका लागि सिफारिस दिइएको छ ।
‘यस्तै, असोज महिनामा मात्रै ४०० किलोग्राम सुन आयात सिफारिस दिइएको छ,’ नेपाल बैंकर्स संघ भन्छ, ‘जसमध्ये अहिले ७८ किलोग्राम मात्रै सुन मौजदात छ ।’ यसअर्थ असोज महिनामा मात्रै ३२२ किलोग्राम सुन वाणिज्य बैंकहरुबाट बाहिर बजारमा गएको छ ।
यता नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्म सुन्दर बज्राचार्य अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा पनि बजारमा माग आइरहेको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘रुस–युक्रेन र कोरोना महामारीपछि बजार भाउ उकालो लागिरहेको छ ।’

सुरुमा मूल्य बढ्दा घट्ने अपेक्षासहित सर्वसाधारणले सुन किन्न छाडेका थिए । तर, मूल्य बढ्दै जाँदा थप बढ्ने अपेक्षासहित सुन किन्नेहरुको संख्या बढ्न थालेको बज्राचार्य बताउँछन् । यहीकारण, असोजमा ४०० किलोग्राम सुन आयात हुँदा थोरै मात्रै मौज्दात रहेको र बजारमा सुन अभाव भइरहेको बज्राचार्यको भनाई छ ।

खासगरी, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सुनको भाउ निकट भविष्यमा नै प्रतितोला ४ लाख रुपैयाँसम्म पुग्ने प्रक्षेपणहरु आइरहेका छन् । यही प्रक्षेपणलाई विश्वास गर्दै सर्वसाधारणले सुनमा निरन्तर लगानी बढाइरहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।
दोब्बरले बढ्यो आयात
भन्सार विभागको तथ्यांकले पनि भदौ महिनासम्मको अवधिमा २ लाख १० हजार ग्राम सुन आयात भएको देखाउँछ । यसको मूल्य ३ अर्ब १२ करोड ९९ लाख रुपैयाँभन्दा बढी हुन आउँछ । जबकि, गत आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्ममा १ लाख १५५ ग्राम मात्रै सुन आयात भएको थियो ।
यो चालू वर्षको सोही महिनाको अवधिमा आधाभन्दा बढीले न्यून हो । यस्तै, गत वर्षको असोजसम्मको अवधिमा समेत सुन आयात १ लाख १५५ ग्राम मात्रै थियो । जबकि, नेपाल बैंकर्स संघका अनुसार यो वर्षको असोजमा मात्रै ४०० किलोग्राम सुन आयात भएर ३२२ किलोग्राम बजार गइसकेको छ । यो तथ्यांकले बजारमा सुन धमाधम उठिरहेको देखाउँछ ।
अन्तर्राष्ट्रिय बजारमा बढेको बढ्यै
सामान्यतया सुनको मूल्य अन्तर्राष्ट्रियरुपमा निर्धारण हुन्छ । नेपालमा हुने माग र खपतले सुनको मूल्यमा शून्य प्रभाव पर्छ । अन्तर्राष्ट्रियरुपमा हुने किनबेचले सुनको मूल्य निर्धारण हुन्छ र सोहीअनुसार नेपालमा कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो गतिमा छ ।
अन्य समयमा डलरको मूल्य बढ्दा सुन घट्ने र डलर घट्दा सुनको मूल्य बढ्ने हुन्थ्यो । तर, यसपटक अमेरिकी डलर र सुनको मूल्य समानान्तररुपमा बढिरहेका छन् । सन् २०२२ मा रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अमेरिकाले रुससँगको अर्बौ डलर मौज्दातलाई कागजमा परिणत गरेको थियो । यस्तै, रुसलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट बाहिर निकालेको थियो ।
यसपछि, अमेरिकालाई आँखा चिम्लेर डलरमा लगानी गर्दै मौज्दात गर्दै आएका विश्वका ठुला अर्थतन्त्र झस्किए । र, चीन, भारत, ब्राजिल जस्ता ‘ग्लोबल साउथ’ देशले डलर रित्याउँदै सुनमा लगानी गर्ने रणनीति अघि सारे । समाचार संस्था न्युज १८ का अनुसार चीनले डलरको मौज्दात घटाउँदै सुनमा लगानी बढाएर २२ सय ३५ टन पुर्याइ सकेको छ । यो प्रतिदिन २ टनदेखि ५ टनसम्मको सरदर खरिद हो ।
यसबाहेक, समाचार संस्था रोयटर्सका अनुसार भारतको सुन मौज्दात पहिलो पटक १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । यसको अर्थ भारतले समेत डलरलाई पन्छाउँदै सुनमा आँखा चिम्लेर लगानी बढाइरहेको छ र ८८२ टन मौज्दात पुर्याइसकेको छ। यससँगै चीन सुन मौज्दात गर्ने देशहरूको सूचीमा छैटौँ स्थानमा र भारत आठौँ स्थानमा आइपुगेका छन् ।
बजार माग बढेपछि बढ्यो आयात कोटा
बजारमा सुनको माग बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुनको आयात कोटा नै बढाएको छ । सुनको मूल्य बढ्दा पनि बजारमा माग नघटेपछि केन्द्रीय बैंकले आयात कोटा नै बढाएको हो । एकीकृत परिपत्र २०८१ संशोधन गर्दै राष्ट्र बैंकले दैनिक २० किलोग्राम सुन आयातको कोटा बढाउँदै २५ किलोग्राम पुर्याएको हो ।
राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बजारको माग र आवश्यक्तालाई मध्यनजर गरेर सुन आयातको कोटा थपेको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा पण्डित भन्छन्, ‘बजारमा माग बढिरहेको सरोकारवालाहरुको भनाई आयो । त्यसलाई मध्यनजर गरेर बजारको आवश्यक्ता हेरेर कोटा बढाइएको हो ।’

यसबाहेक, यतिबेला राष्ट्र बैंकसँग पर्याप्त विदेशी मुद्राको सञ्चिती समेत छ । २१ खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्राको सञ्चिती रहेको अवस्था छ । यसले १७ महिनाको सम्पूर्ण आयात धान्न सक्छ । यहीकारण, बजारको मागअनुसार सुन आयातको कोटा बढाउँदा समस्या नपर्ने भएपछि केन्द्रीय बैंक समेत लचिलो बनेको हो ।






About Us
प्रतिक्रिया