बूढीगण्डकीको बाढीले पुल बगाएपछि आरुघाटमा बेलिब्रिज राख्ने तयारी


गोरखा-बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज निर्माण गर्ने तयारी गरिएको छ। बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री हेटौँडाबाट ल्याउने तयारी भइरहेको छ भने नेपाली सेनाको टोली प्रारम्भिक अध्ययनका लागि फिल्डमा खटिएको छ।

गोरखा सडक योजनाका अनुसार सडक डिभिजन कार्यालय हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याउने तयारी भइरहेको छ। सामग्री आइपुगेपछि निर्माणको काम सुरु गरिने कार्यालयले जनाएको छ। गोरखा सडक योजनाका प्रमुख विनोद पुनले सम्भवतः आइतबारसम्म सामग्री आइपुग्ने बताए। ‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘सम्भवतः भोलिसम्म सामान आउला, आएलगत्तै काम सुरु हुन्छ।’

बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोली पनि फिल्डमा खटिएको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार बेलिब्रिज राख्ने स्थानको प्रारम्भिक निरीक्षण (रेक्की) गर्न टोली परिचालन भइसकेको छ। ‘रेक्कीका लागि टोली गइसकेको छ, हेटौँडाबाट सामान आएलगत्तै काम सुरु हुन्छ,’ रिजालले भने। बाढीले मोटरेबल पुल बगाएपछि आरुघाट-धादिङ जोड्ने सडक सम्पर्क प्रभावित भएको छ। बेलिब्रिज निर्माणपछि उक्त सडक खण्डमा आवागमन सहज हुने अपेक्षा गरिएको छ।