केन्द्रीय बैंकद्वारा एक महिनामा २२ खर्ब ७३ अर्ब तरलता प्रशोचन

'अघिल्लाे वर्षकाे तुलनामा तरलता प्रशोचन ३७ प्रतिशतले घट्यो'


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल राष्ट्र बैंकले २२ खर्ब ७३ अर्ब ३० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ। केन्द्रीय बैंकले समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ३ खर्ब ७९ अर्ब ५० करोड र स्थायी निक्षेप सुविधामार्फत १८ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ गरी कुल २२ खर्ब ७३ अर्ब ३० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक–पटक गरी ३६ खर्ब ३८ अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो। यसअनुसार समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा तरलता प्रशोचन १३ खर्ब ६५ अर्ब ५ करोड रुपैयाँले घटेको छ। २०८३ साउन मसान्तमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ८ खर्ब ६५ अर्ब ८० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ गरी कुल १२ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ तरलता प्रशोचनको बक्यौता रहेको छ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ६६ करोड ५८ लाख खुद खरिद गरी १ खर्ब १ अर्ब ८७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५५ करोड ४२ लाख खुद खरिद गरी ७७ अर्ब ५२ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

त्यस्तै, समीक्षा अवधिमा अमेरिकी डलर २६ करोड बिक्री गरी ३९ अर्ब ९० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २० करोड बिक्री गरी २८ अर्ब ६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।