मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि सर्वसाधारणमा विक्री खुला

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि सर्वसाधारणमा विक्री खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आज साउन २८ गतेदेखि सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ विक्री गरेको थियो । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेको थिएन ।

स्थानीयमा वितरण हुन नसकेको उक्त शेयरसमेत जोडेर सर्वसाधारणमा विक्री गर्न लागिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको छ । यीबाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको छ ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्काशन अवधि छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।