स्वाबलम्बन लघुवित्तको नाफा २१% ले वृद्धि भएर ३३ करोड माथि

स्वाबलम्बन लघुवित्तको नाफा २१% ले वृद्धि भएर ३३ करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३३ करोड ९४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा २१ दशमलव २८ प्रतिशत वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा २७ करोड ९९ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष ५८ करोड ७९ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ५२ करोड ५० लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्ष ट्याक्स खर्चहरूमा कमि आउदा कम्पनीको खुद नाफा बढ्न पुगेको हो । अघिल्लो वर्ष ३० करोड रूपैयाँभन्दा बढी रहेको आम्दानी कर गत वर्ष १५ करोड ८९ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ३६ पैसा बढेर २६ रुपैयाँ ३१ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपार ३४.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५२.४६ गुणा रहेको छ ।

अघिल्लो वर्षभन्दा करिब ७ प्रतिशत बढी १२ अर्ब ८० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ दशमलव १२ प्रतिशत कम १८ अर्ब २९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ५ दशमलव ८८ प्रतिशत रहेकोमा गत वर्ष ८ दशमलव ६६ प्रतिशत पुगेको छ ।