बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले साउन ३२ गतेदेखि ‘हिमालयन ८०–२०’ को इकाई जारी गर्ने भएको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
यी इकाई खरीदका लागि न्यूनतम १०० अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिने व्यवस्था छ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस इकाई विक्री अवधि छिटोमा भदौ ४ गतेसम्म विक्रीमा रहनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ १५ गतेसम्म विक्री लम्बिनेछ ।
बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिने व्यवस्था छ । न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।
प्रतिक्रिया