रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ प्रिमियम मूल्यमा सर्वसाधारणमा आजदेखि जारी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ प्रिमियम मूल्यमा सर्वसाधारणमा आजदेखि जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज साउन २३ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि छिटो अवधि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ ५ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर एप तथा सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।