अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन तथा बाँडफाँड पछि सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।