बैंकिङ्ग समाचार, काठमाडौं ।
साबिक लक्ष्मी बैंक र सनराइज बैंक मर्जर पश्चात गत असार २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशन गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा बैंकको अधिकांश सूचक सुधार भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेर ९९ करोड ६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सञ्चालन नाफा ५८.८९ प्रतिशत बढेर ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ ।
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ ।
२१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया