बैंकिङ्ग समाचार, काठमाडौं ।
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको १३२ दशमलव २३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष ९७ लाख ८६ हजार रूपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष २ करोड २७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।
लघुवित्तको निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफा उल्लेख्य बढेको हो । लघुवित्तको खराब कर्जा ६.७३ प्रतिशत घटेर १.८३ प्रतिशतमा झारेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ८.५६ प्रतिशत थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ४२.०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ २८ पैसाबाट बढेर २३ रुपैयाँ ८६ पैसा पुगेकाे छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ५ करोड २० लाख ८७ हजार कायम छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा साढे ११ प्रतिशत बढी १ अर्ब ६ करोड १९ लाख रूपैयाँ रहेको कम्पनीको निक्षेप संकलन १२ दशमलव ६१ प्रतिशत बढी ३० करोड ३३ लाख रूपैयाँ रहेको छ ।
प्रतिक्रिया