बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको बैंकको खुद नाफा गत आर्थिक वर्षमा धनात्मक भएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घट्दा सञ्चालन नाफासँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष ३ करोड १५ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष १ करोड ३८ लाख रूपैयाँभन्दा बढी रहेको हो । अघिल्लो वर्ष सो अवधिसम्म ३ करोड ७९ लाख रूपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको यो कम्पनी गत वर्ष भने ४ करोड ४३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफामा गएको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६७.८६ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ५४ पैसा ऋणात्मक रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षमा ८ रपैयाँ ८१ पैसा धनात्मक भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४४.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख ३० हजार रूपैयाँ छ । रिटेन्ड अर्निग ७ करोड २६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम १० करोड २७ लाख रूपैयाँभन्दा बढी छ । समीक्षा अवधिमा बैंकको निक्षेप २.८५ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.३४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया