नेशनल हाइड्रोपावरको ५०% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

नेशनल हाइड्रोपावरको ५०% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हालसम्म उक्त हकप्रद शेयरमा २५ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार साउन १७ गते बेलुकासम्म २५ हजार ३७९ जना आवेदकले ५१ लाख ३ हजार ९६० कित्ताका लागि आवेदन दिएका हुन् ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो । यस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा पुग्नेछ ।