माछापुच्छ्रे बैंकको नाफा करिब १०% ले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ५६ करोड

माछापुच्छ्रे बैंकको नाफा करिब १०% ले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ५६ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १.६० रुपैयाँ बढेर १८.५ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९.१० रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर २.१२ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ८.०७ प्रतिशत, आधार दर १०.७४ प्रतिशत र सीडी रेसियो ८०.६४ प्रतिशत रहेको छ ।

विवरण अनुसार बैंकको लाभांश क्षमता १५ प्रतिशतभन्दा बढी देखिएको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगरेको यस बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिशेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ ।

गत वर्षको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ५९ करोड ७२ लाख ४४ हजार रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा बढेसँगै लाभांश क्षमता पनि उच्च भएको हो ।