बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको पहिलो चरणमा निष्काशित आईपीओ आज साउन १६ गते, मंगलबार बाँडफाँड भएको छ । कम्पनीले पहिलो चरणमा असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा सो कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।
विक्री प्रबन्धकका अनुसार तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७२२ जना स्थानीयमा माग बमोजिम १ लाख ८३ हजार ३८० कित्ता आईपीओ बाँडफाँट गरिएको छ । स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन नसकेको विक्री प्रबन्धकको भनाई छ । स्थानीयमा वितरण हुन नसकेको शेयर दोस्रो चरणमा सर्वसाधारणमा जारी गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । सो आईपीओमा कुल २५ हजार २१९ आवेदनमार्फत ६ लाख २६ हजार ८१० कित्ता शेयरका लागि आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको छ । यस अनुसार २० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
प्रतिक्रिया