रिलायबल नेपाल लाइफले साउन २३ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

रिलायबल नेपाल लाइफले साउन २३ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँड गरिसकेको छ । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो ।

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँड गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गर्ने जानकारी दिएको छ ।

यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्काशनमा ल्याउन लागिएको हो ।

यो आईपीओ खरीदका लागि छिटो अवधि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि भदौ ५ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी मानिने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।