राष्ट्र बैंकद्धारा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मौद्रिक नितिका मुख्य १० बुँदाहरु

राष्ट्र बैंकद्धारा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मौद्रिक नितिका मुख्य १० बुँदाहरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । 

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने अनुमान गरिए पनि त्यस विषयमा केही उल्लेख गरिएको छैन । त्यस्तै घरजग्गा, शेयर र हायर पर्चेज कर्जाको जोखिमभारमा पुनरावलोकन गरिने उल्लेख गरिएको छ ।

यस्ता छन मौद्रिक नितिका मुख्य १० बुँदाहरुः

  • बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।
  • ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिने छ ।
  • बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।
  • पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी २ करोड रुपैयाँ पुर्याइने छ ।
  • ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गरिने छ ।
  • २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिनेछ ।
  • भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ ।
  • कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने छ ।
  • आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेको छ ।
  • सहकारी संस्था नियमन तथा छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापनाको लागि राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने ।