आईएमई लाइफको आईपीओ शनिवार बाँडफाँड हुने, ९ लाख ६० हजार जनाले शेयर पाउने

आईएमई लाइफको आईपीओ शनिवार बाँडफाँड हुने, ९ लाख ६० हजार जनाले शेयर पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोलि शनिबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय, सिटिसी मल, सुन्धारमा बिहान ११ बजे आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसा दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारणलाई निष्कासन गरेको कुल शेयर ९६ लाख कित्ता शेयरको १.६४ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ९ लाख ६० हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।