बैंकिङ्ग समाचार, काठमाडौं ।
सात नयाँ स्टक ब्रोकरहरुले आजदेखि नेप्सेमा शेयर कारोबार सुरु गरेका छन् । परिक्षणको रुपमा सानो कित्ताको कारोबार गर्दै उनीहरूले कारोबार सुरु गरेका हुन् ।
यसरी आज सात वटा नयाँ ब्रोकरले कारोबार सुरु गरेसँगै शेयर बजारमा १६ वर्ष पछि नयाँ ब्रोकरको प्रवेश भएको छ । बिहीवार नयाँ अनुमति प्राप्त गरेका सबै ब्रोकरले शेयर खरीद गरेका छन् । नयाँ ब्रोकर आएसँगै लगानीकर्ताले नयाँ विकल्प पाउने छन्। नयाँले पुरानाले भन्दा राम्रो सेवा प्रदान गर्ने बताउँदै आएका छन् ।
पछिल्लो समय मात्रै नेप्सेले सात ब्रोकर कम्पनीलाई सदस्यताको प्रमाणपत्र सहित ब्रोकर नम्बर प्रदान गरेको थियो । सदस्यताको प्रमाणपत्रसँगै भोले गणेश सेक्युरिटिजले ब्रोकर नम्बर ६१ पाएको थियो । त्यसैगरि क्यापिटल म्याक्स सेक्युरिटिज ब्रोकर नम्बर ६२ पायो । हिमालय ब्रोकरेजले ब्रोकर नम्बर ६३ पाएको छ भने सन सेन्युरिटिज ब्रोकर नम्बर ६४ हुने भएको छ । शेयर प्रो सेक्युरिटिजले ब्रोकर नम्बर ६५ मार्फत कारोबार गर्ने छ भने मियो सेक्युरिटिज ब्रोकर नम्बर ६६ मार्फत सञ्चालनमा आउने छ । प्रोपर्टी विजार्ड लिमिटेड ब्रोकर नम्बर ६७ को रुपमा रहने छ ।
नेप्सेबाट अझै १० कम्पनीले सदस्यता पाउन बाँकी छ ।
प्रतिक्रिया