बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी असार ३१ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
गत जेठ २३ गते प्राप्तिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको नेपाल राष्ट्र बैंकले असार २२ गते यी कम्पनीहरूलाई प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । नेपाल धितोपत्र बोर्डले असार २६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २७ गते स्वीकृति प्राप्त गरेसँगै यी कम्पनीले एकीकृत कारोबार शुुरू गर्न लागेका हुन् ।
हाल राष्ट्र उत्थान लघुवित्तको चुक्ता पूँजी रू. २६ करोड छ भने आशा लघुवित्तको रू. ३८ करोड १६ लाख १६ हजार छ । प्राप्तिका लागि राष्ट्र उत्थान लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण चल अचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू आशा लघुवित्तले सकार्ने गरी प्रक्रिया अघि बढेको हो । दुई कम्पनी एक भई आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।
प्राप्तिपछि बन्ने यस कम्पनीको केन्द्रीय कार्यालय हाल राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान बनेपा नगरपालिका–१३, काभ्रेपलाञ्चोकमा रहनेछ । यी दुई कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् ।
प्रतिक्रिया